जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओली सोमबार धनुषाको ढल्केवरमा बिद्युत सवस्टेशनको उद्घाटनका लागि आउन लागेका छन्।
ढल्केवरमा निर्माणाधीन ४०० केभी क्षमता बिद्युत सबस्टेशनको उद्घाटन गर्न उनी आउन लागेका हुन्।
प्रधानमन्त्री ओली ढल्केवर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। उनले प्रधानमन्त्रीको सुरक्षाका लागि २९४ जना नेपाल प्रहरीको जनशक्ति खटाइएको बताए।
यसका अतिरिक्त प्रधानमन्त्रीको आगमनलाई लिएर सशस्त्र र नेपाली सेनाको टोलीसमेत सुरक्षामा खट्ने उनले बताए।
देशकै ठूलो सवस्टेशन सञ्चालनमा ल्याउने तयारी
सरकारले देशकै सबैभन्दा ठूलो सवस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएको ट्रान्सफर्मर जडान भएको छ।
यस्तै कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन्। यो सवस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सवस्टेशन हो।
सवस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ।