विराटनगर- प्रदेश १ मा १३ हजार बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
खोप शुरु भएको ५ दिनमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले माघ १४ गते १ हजार ३९६, १५ गते २ हजार ५५१, १६ गते ३ हजार ८२४, १७ गते २ हजार १२ र माघ १८ गते ३ हजार ५०० ले खोप लगाएको जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकुटामा ५३९, पाँचथरमा ४८९, तेह्रथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३३४, सोलुखुम्वुमा २२६, संखुवासभामा २८१ र ताप्लेजुङमा २१८ जनाले खोप लगाएका छन्।
प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो। प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्रमार्फत खोप लगाउने गरिएको बताए। उनले अहिले सम्म खोप लगाएकाहरुमा साईड इफेक्ट नदेखिएको बताए।
प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाउने कार्यक्रम छ। कोभिड १९ विरुद्धको ९ हजार ६ सय भाइल खोप प्रदेश १ मा ल्याइएको छ।