विराटनगर- प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ २५ गतेका लागि आह्वान गरिएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक आह्वान गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।
संसदको पहिलो बैठक गत माघ ७ गते बसेको थियो। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले अनिश्चितकालका लागि स्थगित गरेको बैठक माघ २५ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव पराजुलीले बताए।
लामो समयसम्म बैठक स्थगित भएपछि प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावको प्रकृया अघि बढ्न सकेको छैन। मुख्यमन्त्री राईविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मतदान गर्ने लगभग निश्चित भएपछि मुख्यमन्त्री राई र उनी पक्षको नेकपा संसद बैठक चल्नै नदिने तयारीमा लागेको छ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने नेकपाका १६ सांसदलाई संसद प्रवेश गर्न नदिन बैठक चल्नै नदिने नेकपा प्रमुख सतेचक बुद्धिकुमार राजभण्डारीले बताएका छन्।
सभामुख प्रदीपकुमार भण्डारीले नेकपाको दुवै पक्षले एकअर्कालाई कारबाही गरे पनि त्यो कार्यन्वयन नहुने बताएका छन्। मुख्यमन्त्री राई समक्ष सभामुख भण्डारीले पहिलो बैठक शुरु हुनुअघि नै कारबाही कार्यन्वयन नगर्ने अडान लिएका थिए।
मुख्यमन्त्री राईले सभामुखलाई अविश्वास प्रस्ताव खारेज गर्न दबाब दिएका थिए। सभामुख भण्डारीले रितपूर्वक अविश्वास प्रस्ताव आएकाले खारेज नहुने बताइसकेका छन्।