बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेमा कुनै शंका नरहेको बताएका छन्।
नेपाली कांग्रेसमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर दुई धारको कुरा आएको सन्दर्भलाई स्पष्ट पार्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए।
‘हामीले त अदालतलाई सम्मान गर्नुपर्छ भनेको हो, तर संसद विघटन असंवैधानिक भन्नेमा त प्रष्ट छौँ’ रिपोर्टस क्लब लुम्बिनीले आइतबार बुटवलमा गरेको साक्षात्कारमा रिजालले भने। उनले कम्युनिष्ट पार्टीहरुले जस्तो अदालतलाई धम्क्याउने पक्षमा आफूहरु नरहेको बताए।
‘हामी जस्तो सामान्य नागरिक संसद विघटन असंवैधानिक हो भन्नेमा प्रष्ट छौँ, न्यायाधीशहरु जसले वर्षौँदेखि कानुनकै भाषा पढ्नुुभएको छ, उहाँहरुलाई थाहा नहुने कुरै छैन’ नेता रिजालले भने, ‘अदालतलाई हामीले विश्वास गरेका छौँ, पुनर्स्थापना हुन्छ।’ उनले दाहाल नेपालले सत्ताको बार्गेनिङ गरेकै कारण ओली प्रवृत्ति जन्मिएको टिप्पणी गरे।
‘सडकमा भएका नेकपाका साथीहरु अन्तिमसम्म सत्ताको मोलमोलाईमा हुनुहुन्थ्यो’, उनले भने, ‘अहिले सडकबाट अदालतलाई अविश्वास गर्नु हुँदैन।’ उनले आफूहरुले संसदमा एउटै पार्टीको सभामुख र उपसभामुख हुनुहुँदैन भन्दा नेकपाभित्रका दाहाल–नेपाल समूहले बेवास्ता गरेको आरोप लगाए।
उनले प्रधानमन्त्री ओलीले निर्वाचन गराउनका लागि संसद विघटन नगरेको समेत दाबी गरे। संविधान नै ठिक नभएको अवस्थामा चुनाव गर्नुको के अर्थ, चुनाव त पञ्चायतमा पनि भएकै थियो’ पूर्वमन्त्री समेत रहेका नेता रिजालले भने –‘चुनाव हुने कुरामा मलाई विश्वास छैन।’