शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठेकेदारबाट ठगिएका मजदुर : हिँडेरै पाँच दिनमा घर, फालेको चाउचाउको सुप खाएर मेटाए भोक

ठेकेदारबाट ठगिएका मजदुर : हिँडेरै पाँच दिनमा घर, फालेको चाउचाउको सुप खाएर मेटाए भोक

‘पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटाेमा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौं, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो।’
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

गलकोट – नेपालमा मजदुरको व्यथा सुनिसाध्य छैन। महिनौं काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएका घटनाको अनगन्ती फेहरिस्त छन्।

आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदुरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ।
तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदुर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन्। 

पर्वतका आठ मजदुर र बागलुङ, बडिगाड गाउँपालिका–१, जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका हुन्। 

एक महिना १९ दिन लगाएर ठेक्कामार्फत्को प्रहरी चौकी भवन निर्माणमा काम गरेका उनीहरू ठेकेदार भागेपछि अलपत्र परेका थिए।

मंगलबार साँझ घरबेटीले आफूहरू बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसको भनाइ छ। 

रामेछापका निर्माण व्यवसायी दिलीप राईले काममा लगाएको उनी बताउँछन्। 

काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको श्रीषले बताए। 

‘ठेकेदारले खाना बस्नसहित दैनिक एक हजार रूपैयाँ ज्याला दिने सहमतिमा एक महिना १९ दिन काम गरियो’, उनले भक्कानिँदै दुःखको फेहरिस्त सुनाउँदै भने, ‘हामी त सोझो मान्छे, पैसा देला भन्ने भयो, एक्कासि घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चाबी लगाए, गोजीमा एक रूपैयाँ दाम नभएका कारण भोकै हिँड्नुको विकल्प भएन।’

दमौली बजारको अस्थायी प्रहरीचौकी भवन निर्माण गरी नजिकै ठेकदारले दिएको कोठामा बस्दै आएका ९ मजदुर एक साथ पाँच दिन लगाएर घर फर्केका हुन्।

दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको श्रीसले बताए। 

लगातार पाँच दिन कालोपत्र सडकमा पैदल हिँड्दा श्रीसका पैताला फुटेका छन्। 

‘पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौं, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो’, उनले भने। 

बागलुङ आएपछि शुक्रबारको रात बागलुङको बाङ्गेचौर–पर्वत पाङ जोड्ने लामो पुलमुनि रात कटाएको उनी बताउँछन्।

ठेकेदार राईले दिएको सम्पर्क नम्बरमा फोन लाग्दैन।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक युवराज तिमिल्सिनाले आफूलाई कुनै जानकारी नभएकाले यस विषयमा बुझ्नुपर्ने बताए। 

उनले जिल्लामा धेरै प्रहरी बिट तथा चौकी निर्माणका चरणमा रहेकाले कुन भन्ने पत्ता लगाउनुपर्ने उनको भनाइ छ। 

जिल्ला प्रहरी कार्यालय तनहुँमा ठेकेदार भागेर मजदुरलाई अलपत्र पारेको कुनै गुनासो उजुरी नआएको उनले बताए। 

यद्यपि दमौलीमा दुई स्थानमा प्रहरी भवन बन्दै आएको र अहिले कामदार तथा ठेकेदार दुवै नभएकाले ठेकेदार सम्पर्कमा आउनासाथ जानकारी लिइने उनले बताए। 

दमौली शेरास्थित खैरेनी प्रतीक्षालयमा पहिलो दिन, पोखराको गगनगौंडामा दोस्रो रात, घट्टेखोलामा तेस्रो रात र बागलुङ जिल्लाको प्रवेशद्वार शहीदपार्कमा चौथो रात कटाएर बागलुङ बजार आएको श्रीस बताउँछन्। रासस

प्रकाशित: Jan 31, 2021| 07:37 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।