काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद पुनःस्थापना भइछाड्ने बताएका छन्।
माइतीघर मण्डलामा धर्ना कार्यक्रममा समापनपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानले संसद् विघटन गर्ने अधिकार कसैलाई नदिएकाले पुनःस्थापना हुनेमा आशंका गर्ने ठाउँ नै नभएको बताए।
तपाईंहरु पदका लागि सडक आन्दोलनमा आउनुभएको भन्ने आरोप छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफूहरु पदका लागि नभएर संविधानको रक्षा गर्न सडकमा आएको जिकिर गरे।
‘अहिले मलगायत कोही पदका लागि आएका होइनौं। भोलि संसद् पुनःस्थापना भएपछि मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसैअनुसार अघि बढ्छु,’ उनले भने,‘अहिले भनेको व्यवस्था जोगाउन र मूल्यमान्यता रक्षाका लागि आन्दोलनमा उत्रिएका हौं।’
केपी शर्मा ओलीको दिन गन्ती शुरु भइसकेको उनले बताए। संसद् पुनःस्थापना भएपछि कांग्रेससँग सहकार्य गरेर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने सहमति भएको छ नि भन्ने प्रश्नमा अहिले कसैलाई प्रधानमन्त्री बनाउने वा दिने भनेर प्रस्ताव नगरेको र भोलि पुनःस्थापना भएपछि लोकतान्त्रिक शक्तिहरुसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ छ।