काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई हिन्दू राज्य बनाउने कोसिस गरिरहेको बताएका छन्।
माइतीघरमा आयोजित धर्ना कार्यक्रममा पाण्डेले यस्तो टिप्पणी गरेका हुन्। ‘ओली अब कम्युनिष्ट रहेनन्। उनले पशुपतिमा दर्शन गर्ने, मन्दिर बनाउने घोषणा गर्दै हिँडेका छन्,’उनले भने,‘उनका पछिल्लो कदमले यस्तो संकेत देखाएको छ।’
उनले ओली हिँडेको कदम गलत भएको भन्दै त्यसको अन्त्यका लागि आफूहरु सडकमा आएको बताए।
‘हामी नयाँ युद्धमा छौं। यो आधुनिक महाभारतको युद्ध हो भनेर म भन्न चाहन्छु,’उनले भने,‘उनी सरकारी सम्पत्ति दुरुपयोग गरेर हिँडिरहेका छन्। कम्युनिष्ट आन्दोलन अगाडि बढाउन होइन, उनले धर्मका नाममा राजनीतिक गरेर अघि बढ्न खोजि रहेका छन्।’
ओलीले माघ २३ गते गर्ने भनेको प्रदर्शनमा राजावादीहरुले पनि आफ्नो समर्थकलाई सहभागिता जनाउन उर्दी जारी गरेको उनको भनाइ छ।
‘ओलीका आलोचकलाई उनले झम्टिने गरेका छन्। अदालतमा बहस गर्ने वकिल, न्यायाधीश लगायत न्यायका पक्षमा उभिएकाहरुलाई जाइलाग्ने काम ओली र उनका निकटका मानिसहरुले गरिरहेका छन्,’ उनले भने,‘आज हामी महाभारतको इतिहास जस्तै अर्जुन भएर न्यायका लागि आन्दोलनमा होमिएका छौं। अर्जुनहरु जागिसकेका छन्, अब ओलीको यो कदमको अन्त्य हुने दिन धेरै छैनन्। ओली पराजित हुनेछन्।’
ओलीको कदमले दक्षिणपन्थीहरु निकै खुसी भएको उनले बताए। ‘संविधान मार्ने चेष्टा गर्दैछन्। ओलीको कदमले सार्वभौमसत्ता माथि प्रहार भएको छ। ओलीले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएर देशलाई पछाडि फर्काउने काम गरेका छन्। यो कदमलाई रोकेर देशलाई नयाँ हिसाबले अघि बढाउनु जरुरी रहेको छ। यो कदम असफल पार्न सबैको सक्रिय सहभागिता हुनेछ भन्ने हामीले बुझेका छौं,’ उनले भने।