काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बिजी मलअगाडि सडकमा बा८७ प ७०९२ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा लमजुङ दोदी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क डेरा गरी बस्ने पैदलयात्री ५६ वर्षीया सुनमाया गुरुङको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगन्ज उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–७ अम्मरसिंह चोकस्थित सडकमा बा९३ प ३३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुर राधे–राधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
सप्तरी, कन्चनरुप नगरपालिका–८ गुवास टोलस्थित सडकमा स१ ह ८३८ नम्बरको अटोले ठक्कर दिँदा पैदलयात्री हनुमाननगर कंकालिनी नगरपालिका–१२ बस्ने ३४ वर्षीय इसराफिल अलीको घट्नास्थलमै मृत्यु भएको छ। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको बैजनाथ गाउँपालिका–१ पन्ध्रखोला मोडस्थित सडकमा भे१ च २९९० नम्बरको बोलेरो र भे५ प ६७७७ नम्बरको मोटरसाइकल शनिबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख नारायण नगरपालिका–११ बस्ने २९ वर्षीय नवीन बिष्टको मृत्यु भएको छ।
उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार घाइते १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुवै सवारीसाधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सुर्खेतको लेकबेसी नगरपालिका–८ गन्यपानीस्थित सडकमा भे१ ख १७२० नम्बरको बसले किच्दा सोही ठाउँ बस्ने ५२ वर्षीय मानबहादुर फौजाको मृत्यु भएको छ।
बसबाट ओर्लेर घरतर्फ जाने क्रममा सोही बसको पछाडिको टायरले किचेर फौजाको घटनास्थलमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–१० वन डिभिजन कार्यालयअगाडि सडकमा म१ त ५४२ नम्बरको ट्याक्टर र बा९१ प ४०४ नम्बरको मोटरसाइकल शनिबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका–१० पहलमानपुर बस्ने २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मान बहादुर बुढा छन्। गम्भीर घाइते भएका उनीहरुको घोडाघोडी अस्पताल सुख्खडमा उपचारका क्रममा मृत्यु भएको हो।