बुटवल– बुटवल उपमहानगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको छ। उपमहानगरमा नगरस्तरीय र वडामा वडास्तरीय सहजीकरण समिति गठन गरिएको हो।
बुटवल उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन एकाइ कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्या समाधानको पहल सुरु भएको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
भूमिसम्बन्धी समस्या समाधानका कामलाई व्यवस्थित, निष्पक्ष र वैज्ञानिक ढंगबाट गर्ने र जग्गाधनी पुर्जा वितरण गर्ने गरी कार्यढाँचा बनाइएको प्रमुख सुवेदीको भनाइ छ।
संघीय तथा प्रदेश कानुनको अधीनमा रही स्थानीय स्तरको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनका चरणबद्ध काम सुरु भएको प्रमुख सुवेदीले बताए।
बुटवल उपमहानगरमा प्रमुख सुवेदीको संयोजकत्वमा नगरस्तरीय सहजीकरण समिति गठन भएको छ।
समितिमा उपप्रमुख गुमादेवी आचार्य सह–संयोजक, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा सदस्यसचिव छन।
यस्तै सहजीकरण समितिमा नगरस्तरीय राजनीतिक दलहरु नेकपा, नेपाली कांग्रेस, जसपा, राप्रपा र राजमोका नगरका प्रमुखहरु, नागरिक समाजबाट दुईजना र प्रमुखले तोकेका कार्यपालिका सदस्यबाट दुई जना गरी १२ सदस्य नगरस्तरीय सहजीकरण समिति गठन भएको उपमहानगरले जनाएको छ।
जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने, स्थानीय जग्गाको नाप नक्शा, कित्ताकाट, हालसाबिक, रजिस्ट्रेसन नामसारी तथा दाखिल खारेज गर्ने, भूमिको वर्गीकरणअनुसारको लगत व्यवस्था गर्ने काम स्थानीय तह अर्थात् पालिकामा आएको छ।
नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरणका लागि स्थानीय पालिकामा आएको जिम्मेवारीलाई वैज्ञानिक ढंगले पूरा गर्ने गरी काम सुरु भएको उपमहानगरका उपप्रमुख तथा नगरस्तरीय सहजीकरण समिति सहसंयोजक गुमादेवी आचार्यले बताइन्।
बुटवलमा कार्ययोजना तर्जुमा गर्दै एकाइ गठन, सहजीकरण समिति गठन, तालिम, लगत संकलनको ३५ दिने सार्वजनिक सूचना जारी गरिएको छ।