बाग्लुङ- बाग्लुङको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तीमा रहेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राति साढे १२ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
निसी खोला गाउँपालिका–२ जुग्गा खोलामा तास खेलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेका थिए।
उनीहरुबाट प्रहरीले रु २३ हजार बरामद गरेको छ। पक्राउ पर्नेमा लेखापाल बुढामगरसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादुर केसी, मोहन बस्नेत र खगेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको उनले बताए। रासस