शनिबार, भदौ २०, २०८३

संघीयता आयो, अनुभूति भएन : जसपा अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा संघीयता आए पनि विभेद कायमै रहेको बताएका छन्।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

जनकपुरधाम- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा संघीयता आए पनि विभेद कायमै रहेको बताएका छन्।

उनले देशमा विभेद अन्त्य गर्नकै लागि संघीय संरचना राजनीतिक सहमतिको आधारमा ल्याइए पनि त्यसको अनुभूति हुन नसकेको बताए।

राष्ट्रिय इन्जिनियर संघको भेलालाई सम्बोधन गर्दै ठाकुरले देशमा पहिचानको आधारमा, जातीयताको आधारमा, लिंगको आधारमा भइरहेको विभेद अन्त्यतका लागि संघीय प्रणाली ल्याएको बताए। उनले भने ‘विभेद अन्त्यका लागि नेपाली जनताले आन्दोलन गरेर संघीय संरचना प्राप्त गरे तर शासन व्यवस्था विभेद गर्नेहरुकै हातमा रहेकाले त्यसको प्रतिफल प्राप्त गर्न सकेनन्।’ अगाडि भने ‘त्यसैले हामी अहिले पनि संविधानको बिरोध गरिरहेका छौँ।’

मधेश आन्दोलनपछि मधेशवादी दलहरुसँग गरिएका सम्झौताहरु अझै पूरा हुन नसकेको स्मरण गराउँदै ठाकुरले भने, ‘मधेशवादी दलहरुले एक मधेश एक प्रदेश मागेका थिए, त्यो माग पुरा भयो ? भएन नि, यो पनि विभेद नै हो।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको संकटकै कारण संसद विघटन गरेको दाबी गरे। सत्ताधारीहरुमाथि संकट पर्दा कि त राष्ट्रवादको नारा दिन्छन् वा संविधानमाथि नै धावा बोल्छन् भन्दै ठाकुरले प्रधानमन्त्री ओलीले आफूमाथि संकट पर्दा संविधानमाथि नै धावा बोलेको आरोप लगाए। उनले भने ‘प्रधानमन्त्री ओली अहिले ठूलो राष्ट्रवादी भएका छन्, संसद पुनर्स्थापनाको माग गर्नेहरुलाई उनी ठूलो राष्ट्रद्रोही ठान्छन्।’

राष्ट्रिय ईन्जिनियर संघको भेलालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेकाले देशमा पटक पटक समस्याको सिर्जना हुने गरेको बताए।

महतोले भने, ‘७० वर्षमा जनताको मागलाई सम्बोधन गर्नका लागि ७/७ वटा संविधान आयो तर जनताका लागि संविधान अझै आउन सकेन।’ उनले देशमा जति संविधान र व्यवस्था परिवर्तन भए पनि विचार र व्यवहारमा परिवर्तन नभएसम्म जनता सुखी हुन नसक्ने दाबी गरे। 

उनले भने ‘मुलुकमा ७ पटक संविधान ल्याइयो, त्यसमाथि बारम्बार प्रतिगमन भयो, किनभने त्यो संविधानले जनताको मागलाई सम्बोधन गर्न सकेन।’

फास्ट ट्र्याकमा ल्याइएको संविधानको परिणामा अहिले सबै नेपाली जनताले भोग्नुपरिरहेको महतोको भनाइ थियो। उनले भने ‘औपनिवेशिक चिन्तनबाट ग्रस्त व्यक्तिहरुले फास्ट ट्र्याकमा संविधान जारी गरेपछि त्यसको पीडा त सबैले भोग्नै पर्छ।’

प्रकाशित: Jan 30, 2021| 13:04 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।