धनगढी- नेकपाको दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गर्न नमानेका केपी शर्मा ओलीले प्रधानमन्त्री पाउने भएपछि मात्र सहमत भएको बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि प्रधानमन्त्री बनाउँछु भनेपछि ओलीले बाम गठबन्धन गर्न तयार भएको बताएका हुन्।
सुरुमा चुनावी गठबन्धन र पार्टी एकताको प्रस्ताव लैजाँदा ओलीले जाँगर नदेखाएको दाहालले बताए। ‘मैले बाम गठबन्धन गरे र पार्टी एकता गरे अर्को पटक फेरि प्रधानमन्त्री बनाउन तयार छु भनेपछि बल्ल ओलीमा जाँगर आएको हो।’ दाहालले भने।
देशमा स्थिरता ल्याउन आफूले धेरै एजेण्डा, धेरै सपना बोकेर पार्टी एकता गरेको तर ओलीले सोचेअनुसारको काम नगरेको र गर्न पनि नदिएको दाहालको आरोप छ।
उनले आफूहरुले चाहे संसद बैठक बसेर ओलीलाई कारबाही गर्नसक्ने अधिकार भएको बताए। अध्यक्ष दाहालले संसदको बैठक बसेर बहुमतको निर्णय गर्ने अधिकार भएको बताउँदै अहिले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा रहेको र सर्वोच्चले संविधानलाई राम्रोसँग बुझ्छ भन्ने विश्वास ब्यक्त गरे।
‘यदि यो मुद्दा अदालतमा जाँदैनथ्यो भने हामीलाई संसद खुलाएर बैठक बसेर ओलीलाई कारबाही गर्ने अधिकार छ’ उनले भने, ‘सबै पार्टीले प्रतिनिधिसभालाई अंवैधानिक भनेका छन्। हामीसँग विकल्पको रुपमा सभामुखले संसदको बैठक बोलाउने र बहुमतको निर्णयले ओलीलाई कारबाही गर्न सक्ने व्यवस्था छ।’
दाहालले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गरे। भट्टको नाम नलिएरै दाहालले आफैले हुर्काएको मान्छे छोप्न नसकिने गरी गएको बताए। उनले भट्ट प्रधानमन्त्री ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए।’ भट्टलाई आफूले पटकपटक मन्त्री बनाएर कार्यकर्तालाई उनै नेता भएको बताउने गरेको दाहालले स्मरण गरे।
अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली पार्टीमा कुपुत्रको रुपमा जन्मिएको बताए। उनले ओली पार्टीमा कुपुत्रको रुपमा जन्मिएको र कहिल्यै नसुध्रिने भएको बताए।
उनले समस्या कुर्सी र पदको हानथापमा नभएको र ओलीको पद खोस्न पनि नभएको बताए। ओलीले पार्टी चलाउन सकेनन् उनले भने, ‘हामीले विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ भनेर जोड दिएका हौँ। उनले ओली युगको चाँडै अन्त्य हुने बताए। आफूहरु उदाउँदो सूर्य भएको र ओली अस्ताउँदो सूर्य भएको उनले दाबी गरे। उनले १२, १५ वर्ष पार्टी चलाएका आफू र झलनाथ खनाल भएको र पार्टीलाई बर्बाद मात्र गर्ने ओली भएको बताउँदै ओलीले आफूलाई एमाले भनेर एमालेको नाम बेचेको आरोप लगाए।
निर्वाचन आयोगले ४४१ केन्द्रीय सदस्य भएर दर्ता भएको पार्टीलाई नै मान्यता दिएको भन्दै उनले ४४१ सदस्यलाई उपस्थित गराएर आयोगले सोध्नुपर्ने र सदस्यहरुको निर्णय नै पार्टीको निर्णय हुने बताए। उनले आफूहरुसँग तीन सय बढी सदस्य भएको भन्दै ओली पक्षमा सय पनि सदस्य नपुगेको र आफूहरु नै असली नेकपा भएको दाबी गरे। उनले ओली समूहका नेता कार्यकर्तालाई भविस्य अन्धकार भएको भन्दै आफूतिर फर्कन सुझाव दिए।
नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले वन तथा वातावरण मन्त्री प्रेम आलेलाई तस्करको नाइकेको संज्ञा दिएका छन्। विरोध सभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री ओलीले तस्करको नाईकेलाई मन्त्री बनाएको आरोप लगाए। उनले प्रेम आले वन तथा वातावरण मन्त्री बनेपछि यहाँको जंगल र जनावर थरथर कामेको बताए।
कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले मन्तव्य राखेका थिए। विरोध सभाअघि धनगढीको बिभिन्न क्षेत्रबाट विरोध र्यालीसहित निकालिएको थियो।