मनाङ - गत मंसिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकास्थित जंगलमा आगो बलिरहेको छ।
मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन।
यहाँका स्थानीय आगो निभाउन खटिएका छन्।
‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, नासो गाउँपालिका-८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले भने।
चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो। यहाँ जम्मा ६३ घरधुरी छन्।
तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए।
तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ।
उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय मिलेर अग्नि रेखा बनाउन सफल भएको बताए। उनले भने, ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरेर आगो निभाउने प्रयासमा छौं।’
रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ।
‘घर जाऊँ आगोले वस्ती नै सिध्याउला भन्ने डर, नजाऔं दुई दिनदेखिको भोक प्यासले हैरान पार्यो’, घलेले आफूहरूका बाध्यता सुनाए, ‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ।’
ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भइरहेको बताए।
अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गरे।
आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ। जंगल जलेपछि घोरल मृग वासस्थान छाडेर भाग्न थालेको स्थानीयले बताएका छन्।
अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेको वडा नम्बर ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
आगो गाउँमा छिरेपछि पनि कतैबाट पनि सुरक्षा नपाएकामा आक्रोश व्यक्त गर्दै उनले भने, ‘प्रशासनले आगो लगाउने व्यक्ति पहिचान गर्न चासो देखाएन र अन्य संघसंस्था पनि गम्भीर देखिएनन्।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारबाही गरिने बताए।
‘आगोको त्रासमा प्रशासन भयभित भएका जनतालाई सुरक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वस्ती जोगाउने काम भइरहेको छ,’ उनले भने।
जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको उनको भनाइ छ। रासस