शनिबार, भदौ २०, २०८३

समाजको आँखा खुलाउँदै दृष्टिविहीन आश्मा

विद्यालय र विश्वविद्यालयका कक्षा चढेर मात्रै मान्छे कहाँ योग्य हुन्छ र? समय र समाज पढेर पनि त योग्य भएको हुन सक्छ नि!
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

‘उमेर, योग्यता र परिपक्वतालाई एउटै डालोमा हालेको मलाई पाच्य लाग्दैन’, आश्मा अर्यालले भनिन्, ‘मान्छेमा परिपक्वता परिवेशले पनि त निर्माण गरिदिन सक्छ।’

विद्यालय र विश्वविद्यालयका कक्षा चढेर मात्रै मान्छे कहाँ योग्य हुन्छ र? समय र समाज पढेर पनि त योग्य भएको हुन सक्छ नि! यही मान्यतामा अडिग छन् उनी।

दरिलो विचार बोकेकी २२ वर्षीया दृष्टिविहीन आश्माको ठम्याइ छ– मान्छे परिपक्व हुन वा योग्य बन्न उमेरले छेक्दैन। उनको परिभाषामा उमेर, योग्यता र परिपक्वता फरकफरक विषय हुन्। उनको यो अडान ‘घमण्ड’ भन्नेहरू पनि छन्।  

‘धेरै उमेर पुगेका मानिस पनि त आलाकाँचा हुन सक्छन् नि!’ यो उनको अनुमान होइन, अनुभव पनि हो। निकै पाको, सम्भ्रान्त, जिम्मेवार ठानिएको व्यक्ति पनि अयोग्य र अपरिपक्व फेला पारेको उनको अनुभव छ।  

त्यस्ता व्यक्तिसँग उनले कसरी व्यवहार गरिन् होला? ‘म त अवस्थाले दृष्टिविहीन छु, तर हाम्रो समाज अझै संकीर्ण छ’, उनले भनिन्, ‘अवस्थाभन्दा चेतनाको दृष्टिविहीनता दयनीय लाग्छ, यो दर्दनाक हुन्छ।’

उनीसँग ठोक्किन आएका त्यस्ता अपरिपक्व, अभद्र वा आलाकाँचा व्यक्तिसँग उनी कहिल्यै भागिनन्। न त डराइन्।

‘मैले त्यस्ता व्यक्तिमाथि सबैभन्दा पहिला करुणाभाव राखें’, लेखक, संगीत प्रशिक्षक र टीभी कार्यक्रम प्रस्तोता आश्माले मानिसको मनोवैज्ञानिक पक्ष उधिन्दै भनिन्, ‘हिंसा गर्नुको पछाडि कुनै न कुनै कुण्ठा पक्कै हुन्छ। मानिसले आफ्नो कुण्ठा कतै न कतै व्यक्त गर्ने कोसिस गर्छ, त्यही क्रममा त्यसले अरुलाई हिंसा गरिरहेको हुन्छ।’

उनले भौतिक रुपमा ठूलै हिंसाको सामना गर्नु नपरे पनि मानसिक र मनोवैज्ञानिक हिंसा गर्ने पात्र भेटिन्। त्यस्ताबाट भागिनन्। ‘परिवार र समाजले नै हामीलाई त्यो नराम्रो मान्छे छ, ऊबाट बचेर हिँड्नू है भनेर सिकाउँछ’, आश्माले भनिन्, ‘त्यो नै गलत शिक्षा हो, त्यस्ता पात्र र परिवेशको सामना गर्नुपर्छ, अनि पो मान्छे सबल बन्छ, दरिलो हुन्छ।’

यस्तैयस्तै विषयमा उनले कैयौं लेख लेखेकी छन्। ‘नन फिक्सन’ लाई साहित्य सिर्जनामा ‘फिक्सन’ बनाएकी छन्। 

अवस्थाले मात्रै दृष्टिविहीन आश्मालाई यही कारणले उनीमाथि कसैले दयाभाव राख्छ भने त्यस्ता व्यक्तिको चेतनाको स्तर देखेर दया लाग्ने बताउँछिन्। 

‘कति पत्रकार नै आए, तिम्रो स्टोरी लेख्छु भन्दै’, उनले सुनाइन्, ‘मेरो क्षमता होइन, अवस्थाका बारे लेख्न आएकाहरु उसै फर्किए। त्यो पनि सोचको उपज हो।’

उनी आफूलाई भेट्नेहरुको सोच, चेतना र व्यवहारबाट कत्ति पनि आजित छैनन्। 

'सिस्टम'मै समस्या
‘समस्या नीति निर्माण तहमै छ। सरोकारवाला निकायमै छ। दयनीय अवस्थामा उनीहरुको सोच र समझ नै छ’, उनले भनिन्, ‘हामी त अवस्थाले मात्रै दृष्टिविहीन छौं, फरक क्षमता भएकाहरु छौं, यहाँ सिस्टम सञ्चालकहरुकै चेतनाको अवस्था ‘ब्लाइन्ड’ छ।’

राजधानीको ललितपुरमा आमा इन्दिरा अर्यालको सन्तानका रुपमा जन्मिएकी आश्माले शिशु कक्षादेखि नै ब्रेल लिपिमा पढ्दै आइन्। 

‘बिग्रिएको झ्यारझ्यार गर्ने टीभीको स्क्रिनजस्तो आँखाले उज्यालो हो कि अँध्यारो हो भन्ने त ठम्याउन सक्छु’, आश्माले आफ्नै अवस्थाको बयान गरिन्, ‘मेरो आँखाको नानी स्थिर हुँदैन, अक्षर चिन्न सक्ने कुरै भएन।’ 

डाक्टरको चेतावनी उल्लंघन गरेर उनले नानी स्थिर राख्ने प्रयास गरिन्। वर्णमालाका केही अक्षर चिन्ने कोसिस गरिन्। ‘अहँ, भएन’, भनिन्, ‘त्यसो गर्दा टाउको दुख्ने, आँखा पोल्ने समस्या बढ्यो।’

त्यसपछि उनले ब्रेल लिपिकै सहारा लिइन्। अहिले उनी त्रिविबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दै छिन्।

अध्ययनका क्रममा नेपालको शिक्षा क्षेत्र नीतिगत, सोच र समझले निकै दयनीय भएको पाएको उनी बताउँछिन्। ‘पढ्दा त ठिकै छ, परीक्षा दिने बेलादेखि नतिजा प्रकाशन हुँदाको अवधिसम्म डिप्रेसन होला झैं पो हुन्छ’, उनले भनिन्। 

त्यसो किन त? 
आश्माले पढ्दाको सास्ती सुनाइन्। ‘नेपालको शैक्षिक प्रणाली नै ठिक छैन। शिक्षा नीति र प्रणालीको दूरदृष्टि छैन’, उनले भनिन्, ‘हामीले परीक्षा दिँदा आफूभन्दा एक ब्याचमुनिको लेखक राख्नुपर्छ। परीक्षाभन्दा त्यसको तनाव उच्च हुन्छ।’

उनी र उनीजस्तै दृष्टिविहीनलाई लेखक खोज्नै हम्मे पर्छ। लेख्ने मान्छे खोजेर मात्र पुग्दैन, क्याम्पस प्रमुखको सिफारिससहित लेखकलाई लिएर बल्खु पुग्नुपर्छ। 

‘त्यहाँ त्यस्तै भीड हुन्छ’, उनले भनिन्, ‘त्यहाँ पनि हारगुहार गर्यो, हामी यस्तो, हामी उस्तो भन्यो बल्ल बल्खुले (परीक्षा नियन्त्रण कार्यालय) परीक्षा सेन्टरलाई चिठी लेखिदिन्छ। त्यो चिठी लिएर गयो, बोलेर लेख्नुपर्ने भएकाले छुट्टै कोठा माग्नै हम्मे पर्छ।’

छुट्टै कोठा दिएर परीक्षकले कहिले प्रश्नपत्रै दिन बिर्सने, कहिले थप उत्तरपुस्तिका नै नल्याइदिने, थपिएको समयमा अन्य परीक्षार्थीको उत्तरपुस्तिका पोको पारिसकेपछि परीक्षकले ‘अझै सकिएन, चाँडो गर्नुस् न’ भनेर अत्याउने अवस्थाले आश्मा आजित छिन्। 

उनले भनिन्, ‘हामीजस्ता फरक अवस्था भएकाका बारेमा हाम्रो शिक्षा प्रणालीमा सोच्दै सोचिएन। अझै परिकल्पना गर्न सकिएको छैन।’

‘डिक्टेक्सन’लाई टप्प टिप्न सक्नेहरु लेखक बस्नै मान्दैनन्। कमजोर, अलि अभाव भएका बसिदिन रुचाउँछन् तर उनीहरुलाई प्रश्नपत्रको उत्तर मात्रै भनिदिएर हुँदैन। स्पेलिङदेखि शुद्धाशुद्धिसम्म भनिदिनुपर्छ। त्यसरी दिइएको परीक्षाको सकस सम्झँदा उनी दिक्दार हुन्छिन्। उनको भनाइ छ– यसलाई कम्प्युटर प्रणालीमा पनि त लग्न सकिन्थ्यो होला नि!

‘हाम्रो कोर्सको किताबमा केही छैन त म भन्दिनँ’, उनले भनिन्, ‘तर व्यावहारिक पटक्कै छैन, दही मथेर नौनी निकालेजस्तो निकाल्न सके केही ज्ञान त छ तर सीप छैन।’

शैक्षिक अभियन्ता
आश्माले आफूलाई भने अनेक पाटोमा निखार्दै लगेकी छन्। उनी विद्यार्थी मात्र होइनन्। गम्भीर प्रकारका फरक क्षमता भएकालाई उनले अनलाइन माध्यमबाट पढाउने अभियान चलाएकी छिन्।

मनीषा गौचनसँग मिलेर उनी ‘डिमारिका’ समूहको संस्थापक–संयोजक भएकी छन्। आफ्ना दैनिक क्रियाकलाप गर्न समेत अरूको सहयोग चाहिने बालबालिका र किशोरकिशोरीलाई शिक्षा दिने काममा सक्रिय छिन् उनी। 
उनीहरुलाई कहिलेकाहीं भेट्न घरमै पुग्छिन्। 

यो सबै कसरी सम्भव छ? ‘व्यवस्थापन ठूलो कुरा रहेछ। सन्तुष्टिको मापन केलाई मान्ने?’ उनले भनिन्, ‘म हरेक दिन हिँडेकै छु, गेस्ट भेट्छु, चियाखाजा खाइएकै हुन्छ। काठमाडौंमा मैले घर छोडेर हिँडें भने पनि तीन महिना त मेरो चिने जानेका सहृदयीकहाँ एकएक रात बसेरै पनि गुज्रिन्छ।’

संगीत प्रशिक्षक 
आश्मा संगीत साधक, असल कम्पोजर मात्रै होइनन्, कुशल संगीत प्रशिक्षक हुन्। जडीबुटीमा ‘झंकार कला केन्द्र’ स्थापना गरेर उनी संगीत प्रशिक्षण गर्दै आएकी छन्। 

उनले कलानिधि इन्दिरा संगीत महाविद्यालय र इलाहावाद प्रज्ञा संगीत समितिबाट गरेको ६ वर्षे शास्त्रीय संगीतको सीपलाई झंकारमा उपयोग गरेकी छन्। 

लेखक आश्मा
आश्मा उदीयमान लेखिक÷साहित्यकार पनि हुन्। सानै छँदा ‘सेतो भूत’ कथा संग्रह, ‘मेरो फूलबारी’ कविता संग्रह र ‘नमेटिने डोबहरु’ स्मारिका प्रकाशन गरेकी आश्माका विभिन्न पत्रपत्रिका, अनलाइन पत्रिकामा आलेख, लेख, कथा र कविता प्रकाशित छन्। 
समय, परिस्थिति, पात्र र प्रवृत्तिलाई लेखनको मूल स्रोत बनाउने आश्मा अनुवादक पनि हुन्। 

यो बाहेक उनी भिडियो निर्देशन पनि गर्छिन्। अध्यात्म, योग र ध्यानमा पनि उनको लगाव उस्तै छ। 

सोचमा संकुचन देख्ने आश्मा
‘हाम्रो सोच नै साँघुरो छ। हामी आज पनि 'ब्याड टच र गुड टच' सिकाउँछौं’, उनले भनिन्, ‘मेरी आमाले मलाई खाजा पोको पारेर स्कुल पठाउँदा राम्ररी खा है भनेर सिकाउनुभयो, बाँडेर खा भन्नु भएन।’ 

बाँडेर खानु भन्ने चेतना दिएको भए समाजमा सदाचार र परोपकारी भावना विस्तारित हुँदै जाने उनको बुझाइ छ। 

‘गुड चट र ब्याड टच’ भनेर बाल मानसपटलमा त्रास भर्नुभन्दा स्वतन्त्रताको घाँटी ननिमोठ्ने हो भने जीवनमा धेरै कुरासँग प्रतिवाद गर्ने क्षमता विकास हुने उनको बुझाइ छ। 

‘बालबालिकाको संरक्षण गर्नुपर्छ’, उनले भनिन्, ‘तर स्वतन्त्रताको घाँटी निमोठ्नु हुँदैन। त्यसले समाजसँग घुलनशील हुने क्षमता पनि नाश गरिदिन्छ। आज म जहाँ छु, स्वतन्त्रताको पूर्ण सदुपयोग गरेर समाजसँग भिडेर हिँड्न सक्ने भएकी छु।’
 

प्रकाशित: Jan 30, 2021| 05:30 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।