शनिबार, भदौ २०, २०८३

ओलीले मुलुकलाई दुर्घटनातर्फ धकेले : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन्।

उनले ५ वर्षका लागि नेपाली जनताले आ–आफ्नो जनप्रतिनिधि पठाए पनि मुलुकलाई अस्थितर बनाउनकै लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। 

उनले संसद विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र वर्चश्ववादी कदम रहेको जिकिरसमेत गरे। नेता निधिले संसद विघटन गरेर प्रधानमन्त्रीले जनता र मतदाताको अपमान गरेको दाबी गरे। 

शुक्रबार महोत्तरीको जलेश्वरमा स्वर्गीय रामनारायण मिश्रको शालिक अनावरण कार्यक्रममा नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताए।

उनले भने, ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ। त्यसका लागि दुईवटा संवैधानिक बाटो छ। सर्वोच्चद्वारा संसद पुनर्स्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको गठनबाहेक अन्य कुनै विकल्प छैन। अहिलेको वर्तमान परिस्थितिमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्दछ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको उनले बताए। ‘जनतालाई कुनै पनि हालतमा प्रतिनिधिसभा चाहिन्छ। तर, प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवम् मतदाताको अपमान गरेका छन्।’ निधिले थपे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली कांग्रेसको मुख्य एजेण्डा रहेको बताए। 

उपसभापति निधिले कांग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी थाती राखेर निर्वाचनमा लाग्नुलाई प्राथमिकता बनाएको बताए। उनले भने, ‘संसद पुनर्स्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ। तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ।’

वर्तमान परिस्थितिको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनर्स्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्न दुबै विकल्पका लागि कांग्रेस तयार हुनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले नेपालमा सबैभन्दा बलियो मधेशी पार्टी नेपाली कांग्रेस नै रहेको दाबी गरे। उनले मधेश र नेपाली कांग्रेस एकअर्काको पर्याय रहेको जिकिरसमेत गरे। संसद विघटनको कदम प्रधानमन्त्रीको अप्रजातान्त्रिक कदम रहेको बताउँदै उनले निर्धारित समयमा निर्वाचन गराउन नसके प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा रहन नसक्ने दाबी गरे।

प्रकाशित: Jan 29, 2021| 12:51 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।