काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज(शुक्रबार) सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुृर नगरमाथि फराकिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले चन्द्रपुरलाई १०–० गोलले हराएको हो। आर्मीको सानदार जितमा शर्मिला थापा र रश्मी घिसिङले ह्याट्रिक गरे। उनीहरुको ह्याट्रिसहित समान ४–४ गोलको सहयोगमा आर्मीले सानदार जित निकाल्न सफल रह्यो।
यसबाहेक विमला चौधरी र सपना लामाले पनि समान १–१ गोल थपे।
जितका साथ अंकतालिकामा आर्मीले विभागीय टिम पुलिस र वालिङ नगरलाई दुई अंकले पछि पारेको छ।
आर्मीले ७ अंक जोड्दा पुलिस र वालिङको समान ५–५ अंक छ। यता शीर्षस्थानमा रहेको एपीएफ भने आर्मीभन्दा पाँच अंकले अघि छ।
आजको खेलमा आर्मीकी विमला चौधरीले तेस्रो मिनेटमा गोल गर्दै विभागीय टिमलाई सुरुआति अग्रता दिलाएकी थिइन्।
लामाले ४४ औं मिनेटमा गोल गर्नुअघि थापाले १५ र ३५ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै ४–० गोलको अग्रता भएको थियो। थापाले ५१ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने घिसिङले सबै गोल दोस्रो हाफमा गरिन्।
थापाले ६४ औं मिनेटमा गोल गर्नुअघि दुई र त्यसपछि दुई गोल गर्दै घिसिङले व्यक्तिगत चार गोल गरेकी थिइन्।
आर्मीको जितपछि प्रशिक्षक राजु तामाङले आजको फराकिलो जितपछि आर्मीको स्ट्राइकरको आत्मविश्वास बढेको बताएका छन्।
‘हामी तीन अंक चाहन्थ्यौँ। त्यो पूरा भयो,’ उनले भने।
यता चन्द्रपुका प्रशिक्षक चित्र दर्लामीले टिमका मुख्य खेलाडीहरु चोटग्रस्त भएका कारण खेलमा प्रभाव परेको बताएका छन्।