काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले दर्जनौं गौरवका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु दुःखको कुरा भएको बताएका छन्।
शुक्रबार काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अधिकांश आयोजना यही सरकारले पूरा गरेको स्पष्ट पारेका हुन्।
मन्त्री श्रेष्ठले रानीपोखरी, धरहरा, देशका दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थल, पाइपलाइन, रेल सञ्चालन र ठाउँ ठाउँमा सुरुङमार्ग निर्माण गरेकाले सरकारले केहि गरेन भन्नु हास्यास्पद भएको बताए। उनले मुलुकलाई थप विकासको गतिमा लैजान निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेर चुनावको तयारी गरेको बताए।
उनले देशका १६५ निर्वाचन क्षेत्रमध्ये आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी समेत गरे। उनले भने, ‘सबै दल आन्दोलनको नाममा घरदैलो अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेका छन्। अब मुलुक चुनावमय भैसक्यो।’
खड्कागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रीहरी खड्काले संघीय स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख, प्रदेश साझदारी कार्यक्रम अन्तर्गत १ करोड ५० लाख, जनस्तरबाट १ करोड २५ लाख र काठमाडौ महानगरपालिकाको १० लाख रुपैयाँ लागतमा परियोजना सम्पन्न भएको जानकारी गराए। परियोजना अन्तर्गत ८९० घरधुरीमा खानेपानी वितरण भैसकेको छ।