काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे सभामुखले संवैधानिक अधिकार प्रयोग गरेर संसद् बैठक डाक्ने बताएका छन्। विराटनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
‘अहिले मुद्दा सर्वोच्चमा अदालतमा छ। हामीलाई विश्वास छ– संविधान, लोकतन्त्र, देश र जनताको भावना अनुसार फैसला गर्छ,’ उनले भने,‘तर, जरुरी पर्यो भने हामी संसद बैठक बस्छौं र यस्ता अपराधीलाई कारबाही गर्छौं। संविधानले बैठक बस्ने अधिकार दिएको छ।’
केपी ओलीले गरेको असंवैधानिक कदम सच्चाउन सभामुखले बैठक आब्हान गर्ने उनले बताए। उनले सर्वोच्च अदालतप्रति विश्वास रहेको भन्दै जरुरी परे नेपाली जनतासँग विकल्प रहेको बताए।
‘संविधानले ५ वर्षका लागि जिम्मेवारी दिएको छ। हामी मरेका छैनौं। कसैले नक्कली हिसाबले मारे भन्दैमा हामी मर्नेवाला छैनौं,’ उनले भने,‘केपी शर्मा ओलीको श्री ३ महाराज बन्ने सपनाको छिट्टै अन्त्य हुनेछ।’
२५० वर्ष पुरानो राजतन्त्र त नेपाली जनताले ढालेको भन्दै उनले केपी ओलीको शासनसत्ता धेरै नटिक्ने बताए।