शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई गगनले भने– भारत र बेलायतको उदाहरण दिएर संसद् विघटन गर्ने भए उतै जानुस्

ओलीलाई गगनले भने– भारत र बेलायतको उदाहरण दिएर संसद् विघटन गर्ने भए उतै जानुस्

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गरेर भारत र बेलायतको संविधानको उदाहरण दिने हो भने उतै जान आग्रह गरेका छन्।  
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गरेर भारत र बेलायतको संविधानको उदाहरण दिने हो भने उतै जान आग्रह गरेका छन्।  

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शान्तिवाटिकामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेपालको संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेर अन्य देशको उदाहरण दिने भए ओली उतै जानुपर्ने बताएका हुन्।  

‘हाम्रो संविधानमा प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान छ। विघटनको अधिकार छैन। हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने अनि भारत र बेलायतको उदाहरण दिने भए उतै जानुस्,’ थापाले भने।  

उनले अहिले अदालतमा बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर बहस भइरहेको बताउँदै मन नलागे प्रधानमन्त्री घर जान सक्ने बताए। ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर अदालतमा छलफल चलिरहेको छ। मन लागेन भने गर्ने ? घर  जाने। घरमा बस्न मन नलागे वन जाने,’ उनले भने। 

उनले पाँच वर्षका लागि केपी ओलीलाई जिम्मेवारी दिइएको तर ओलीले त्यसलाई पूरा गर्न नसकेको बताए। ‘संविधानको जगमा उहाँलाई जिम्मेवारी दिइयो। तर शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्,’ उनले भने, ‘घर बनाउन नसक्ने हो भने जानिनँ भन्नुपर्नेमा उहाँ जग भत्काउन लाग्नुभयो।’  

उनले ओलीलाई इतिहासले जनताको अधिकार खोस्ने शासकका रुपमा दर्ज गर्ने बताए। थापाले अहिले चुनाव कसले जित्ने भन्ने प्रश्न नभएको बताए। ‘आज नेकपाकै दुई खेमा एक अर्काविरुद्ध खेलेका छन्। चुनाव जित्ने र हार्ने कुराका लागि मात्रै नेपाली कांग्रेस बनेको होइन,’ उनले भने, ‘हामीलाई लागेको छ गोल हान्न सजिलो छ। तर खेल मैदान रहेन गोल हान्ने हो, नरहे के गर्ने ? त्यसैले खेल मैदान राख्ने पद्धति राख्नका लागि कांग्रेस लडेको छ।’

उनले कांग्रेसले ओलीको कदम असंवैधानिक हो भनेर निर्णय गरेकाले कसैले अलमल राख्नुपर्ने आवश्यकता नरहेको बताए। अदालतले संविधानमा लेखेको कुराको व्याख्या गर्ने भन्दै संविधानमा थपघट गर्ने अधिकार अदालतलाई नभएको उनले बताए। प्रधानमन्त्रीको संसद् विघटनको प्रस्ताव सदर भए लोकतन्त्रमा जनताको यो भन्दा अर्को ठूलो अपमान केही नहुने उनको भनाइ थियो।

प्रकाशित: Jan 29, 2021| 10:27 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।