काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानले जनतालाई अधिकारसम्पन्न बनाएको बताएका छन्।
सहिद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित सहिद स्मारकमा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ओलीले लोकतन्त्रलाई संस्थागत गरेर सहिदको सपना साकार पार्न सरकार क्रियाशील भएको बताएका हुन्।
लैनचौरमा श्रद्धाञ्जलिसभा हुनुअघि रत्नपार्क शान्तिवाटिकाबाट लैनचौरसम्म प्रभातफेरी गरिएको थियो। कार्यक्रममा नेपाली सेनाको टुकडीले सहिदप्रति सलामी चढाएको छ।
राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले विसं १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको स्मरणमा सहिद दिवस मनाउने गरिएको छ।
राणा शासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए।