काठमाडौं– निर्वाचन आयोगले छलफलका लागि बोलाएपछि आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका नेकपाको दाहाल–नेपाल समूहका नेताहरु छलफल नै नगरी त्यहाँबाट निस्किएका छन्।
आफ्नो समूहका दुवै अध्यक्ष (पुष्पकमल दाहाल र माधवकुमार नेपाल) राजनीतिक कार्यक्रमको सिलसिलामा काठमाडौं बाहिर रहेका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै उनीहरु आएपछि जुनसुकै समयमा उपस्थित हुने पत्र छोडेर उनीहरु निस्किएका हुन्।
दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले नेकपा विभाजनको विवाद नटुंग्याई दल दर्ता नखोल्न र निर्वाचनको अन्य तयारी नगर्न आफूहरुले आयोगलाई आग्रह गरेको बताए। आयोगले छलफलका लागि बोलाएको पत्रबाट नेकपा विभाजित भइसकेको देखिने तर्क पनि उनले गरे।
आयोगमा छलफल गर्न नेकपाका ओली समूहबाट विष्णु पाैडेल, सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल र विमला राई पौड्याल गएका छन् भने दाहाल–नेपाल समूहबाट लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान। दाहाल–नेपाल समूहका नेताहरु निस्किए पनि ओली समूहका नेता भने छलफलमै छन्।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाखमा दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको छ र निर्वाचन आयोगले पनि आवश्यक तयारी अघि बढाएको छ। निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने अन्तिम तयारीमा रहेको आयोगले सत्तारुढ नेकपाको दुवै पक्षसँग छलफल गर्न खोजेको हो।
निर्वाचनको छलफलका लागि बोलाइए पनि आयोगमा नेकपाको विवादका विषयमा पनि छलफल हुने बताइएको छ। आयोगले माघ ११ गते नेकपा विभाजन हुन नसक्ने निर्णय गरेको थियो। दुवै पक्षले पुस ५ पछिका निर्णयहरु बुझाउँदै आधिकारिकता दावी गरे पनि आयोगले भने नेकपाको पुरानै संरचनालाई मान्यता दिँदै विभाजन हुन नसक्ने अवस्था रहेको भन्दै निर्णय दिएको थियो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल नेपाल समूह सडक आन्दोलनमा छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्ष वैशाखमा नै निर्वाचन हुने भन्दै निर्वाचनको तयारी गरिरहेको छ।