शनिबार, भदौ २०, २०८३

सहिद सम्झाउने तुलाधर परिवार

हामीले सहर र बजारको चोकमा धेरैका सालिक देखेका छौं। तीमध्ये अधिकांश सालिक सहिदकै हुन्छन्। तीन पुस्तादेखि सालिक निर्माण गर्दै आएको राजु तुलाधरको अनुभव छ– मालिक फेरिएपछि सालिक निर्माणको क्रम बढ्छ र काममा थप व्यस्त हुनुपर्छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

हामीले सहर र बजारको चोकमा धेरैका सालिक देखेका छौं। तीमध्ये अधिकांश सालिक सहिदकै हुन्छन्। तीन पुस्तादेखि सालिक निर्माण गर्दै आएको राजु तुलाधरको अनुभव छ– मालिक फेरिएपछि सालिक निर्माणको क्रम बढ्छ र काममा थप व्यस्त हुनुपर्छ।

काठमाडौं -  राजु तुलाधरले सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठका कैयन् सालिक निर्माण गरिसकेका छन्। उनले बाफलस्थित आफ्नै घरमा सहिदका अर्धकद र पूर्णकदका सालिक निर्माण गर्न लागेको वर्षौं भइसक्यो।

काठमाडौंका स्थानीय राजु बाल्यकालदेखि काममा संलग्न छन्। सालिक र मूर्ति निर्माणमै उनको ३० वर्ष बितिसक्यो। उसो त उनको पुर्ख्याैली पेसा नै सालिक र मूर्ति निर्माण हो।

मालिक फेरिए कि सालिक निर्माणको क्रम ह्वात्तै बढ्छ अर्थात् चुनाव भएर नयाँ जनप्रतिनिधि आएपछि सालिक बनाउने व्यस्तता बढ्छ। उनी भन्छन्, ‘सबैभन्दा धेरै सालिक सहिदकै बन्छन्। ठूला सहरमा कतै न कतै सहिदको सालिक राखिएकै छ।’

देशका कतिपय ठाउँमा स्थानीय र कतिपय ठाउँमा राष्ट्रियस्तरका सहिदको सालिक छन्। ती सालिक निर्माण गर्नेमा राजु अग्रपंक्तिमा छन्।

प्रजातान्त्रिक आन्दोलन, बहुदल, माओवादी सशस्त्र युद्ध, ६२–६३ को जनआन्दोलन तथा मधेस आन्दोलनमा धेरै व्यक्ति सहिद बने। त्यसबाहेक अधिकार प्राप्तिका अन्य थुप्रै आन्दोलनका सहिदको सालिक निर्माण धमाधम भई नै रहेका छन्।

गृह मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा सहिदको सूचीमा झन्डै १२ हजारको नाम छ। पछिल्लो समय सामान्य घटनामा ज्यान गुमाउनेलाई पनि राजनीतिक पहुँचका आधारमा सहिद घोषणा गरिँदा सहिदको संख्या बढेको छ। यद्यपि धेरै सालिक भने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नै बन्ने गरेको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सालिक निर्माणका लागि आउनेको संख्या ह्वात्तै बढेको राजु बताउँछन्। त्यसैले उनको व्यापार पनि बढेको छ।

त्यसअघि घरपरिवारका व्यक्ति मात्र सालिक निर्माणमा संलग्न रहेकोमा अहिले थप ६ जना कामदार राखेका छन्। निर्माण भइरहेका अधिकांश सालिक पनि सहिदकै छन्।

एकीकरणका योद्धाको सालिक निर्माण बढ्दो

सहिदबाहेक कवि तथा राजनीतिज्ञको सालिक पनि बनिरहेकै छन्। पछिल्लो समय भने पृथ्वीनारायण शाह, बहादुर शाह तथा अंग्रेजविरुद्ध लडेका कमान्डरको सालिक बनाउने क्रम बढेको राजु बताउँछन्।

उनी भन्छन्, ‘केही वर्षयता मैले पृथ्वीनारायण शाह, अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापाका धेरै सालिक बनाएको छु।’

अंग्रेजसँगको युद्धका कमान्डरका सालिक धेरै निर्माण भइरहेका छन्। भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, उजीरसिंह थापालगायतले बनाएका किल्ला र गढी भएका जिल्लामा उनीहरूको सालिकको माग बढ्दो छ।

साथै राष्ट्रिय विभूति, राजनीतिक दलका नेता, साहित्यकार तथा दाताको सालिक बनाउन पनि ‘अर्डर’ आइरहेका छन्।

पहिलो सालिक निर्माणको विरासत

नेपालमा पहिलो सालिक निर्माणको विरासत राजुकै परिवारसँग जोडिएको छ। राणा शासनका बेला नेपालमा सालिक बन्दैनथ्यो। भारतबाट वा बेलायतबाट बनाएर ल्याइन्थ्यो। मूर्ति भने यहीं बन्थे।

देवीदेवताका परेका मूर्ति आफ्नै देशमा बन्ने तर सालिक नबन्ने देखेपछि १९८२ सालमा प्रधानमन्त्री चन्द्रशमशेरले स्वदेशमै सालिक बनाउने कालिगढको खोजी गरे। राजु तुलाधरका हजुरबुवा रत्नबहादुर तुलाधर अघि सरे।

रत्नबहादुरलाई प्रधानमन्त्री चन्द्रशमशेरले पहिलो विश्वयुद्धमा बहादुरी देखाएका नेपाली सिपाहीको सालिक बनाउन जिम्मेवारी दिए। त्यसमा सफल भएपछि रत्नबहादुरको लोकप्रियता बढ्यो। 

उक्त सालिक न्युरोडस्थित सैनिक अस्पतालमा अझै पनि देख्न सकिन्छ। त्यो सालिक निर्माण कलाबाट प्रभावित भएर चन्द्रशमशेरले रत्नबहादुरलाई एक बोरा मोहोर उपहार दिएका थिए। त्यति मात्र होइन राज्यका तर्फबाट तुलाधर परिवारलाई वर्षमा ७२ मुरी धान दिने प्रतिबद्धता व्यक्त गरेका थिए। रत्नबहादुरले बनाएको नेपाली योद्धाको सालिक नै नेपालमा बनेको पहिलो व्यावसायिक सालिक मानिन्छ। त्यसपछि उनले जीवनकालमा थुप्रै सालिक बनाए।

रत्नबहादुरको सालिक निर्माण कला उनका छोरा अर्थात् राजुका बुवा बालकृष्ण तुलाधरमा हस्तान्तरण भयो। बालकृष्णले नै बनाएका हुन्- काठमाडौंका सहिदगेटमा राखिएका चार सहिद र राजा त्रिभुवनको सालिक।

सहिद गेटमा बालकृष्णले यी पाँचवटा सालिक मात्र बनाएनन्, राजा त्रिभुवन भारतबाट फर्किँदै गर्दा विमानस्थलमा विमानको ढोकाबाटै सर्वसाधारणलाई हात हल्लाएर गरेको अभिवादन र जनताले गरेको स्वागतलाई पनि पत्थरमा कुँदेका थिए। त्यो कलाकृति व्यवस्था परिवर्तनका पछिल्ला आन्दोलनकै क्रममा कतै हरायो। सैनिक मञ्च टुँडिखेलमा राखिएका ६ सिपाहीका सालिक पनि बालकृष्णले बनाएका हुन्।

राजुको परिवारका अधिकांश सदस्य अहिले पनि यही काममा संलग्न छन्। बालकृष्ण ८६ वर्षका भइसके। सालिक र मूर्ति निर्माणमा राजुलाई सघाइरहेका छन्। उनका जेठा, माइला र साइँला छोरा पनि सालिक, मूर्ति वा चित्रकलाको काममा छन्।

पुराना सामग्री प्रयोग गरेर नयाँ सालिक

सालिक निर्माणका लागि प्रयोग गरिने विभिन्न वस्तुमध्ये मेटल (ढलोट) प्रायः पुराना भाँडालाई ‘रिफाइन’ गरेर तयार गरिन्छ। थोत्रा पित्तलका भाँडा खरिद गरी गालिन्छ अनि तिनलाई मूर्तिको आकार दिइन्छ। 

‘गालिसकेपछि नयाँ नै हुन्छ, सुन जस्तै’, राजु भन्छन्। यसरी गालिएको वस्तुलाई ढलोट भनिन्छ। मैनको बेसमा ढलोट हालेर सालिक तयार पारिन्छ। फाइबरको मूर्ति पनि यही प्रक्रियाबाट तयार गरिन्छ। सिमेन्टको मूर्तिलाई भने यसो गरिरहनु नपर्ने राजु बताउँछन्।

कति पर्छ सालिकको मूल्य ?

सामान्यतया नेपालमा ढुंगा, धातु, सिमेन्ट र फाइबरबाट सालिक निर्माण हुने गरेका छन्। राजुको परिवारले प्रायः ढलोट (मेटल) को सालिक निर्माण गर्छ। त्यसबाहेक फाइबर र सिमेन्टबाट।

मेटलबाट बन्ने सालिक अर्धकदको साढे दुई लाख रूपैयाँसम्ममा निर्माण हुने गरेको छ। पूर्णकदको सालिकको मूल्य १० लाखदेखि १२ लाखसम्म पर्छ। राजुका अनुसार यो मूल्यमा पाइने साइज सामान्यरूपमा मानिस जत्रै हुन्छ। त्यसभन्दा ठूलो र सानो साइजको मूल्य त्यहीअनुसार फरक हुन्छ। सिमेन्ट र फाइबरको सालिक ढलोटको भन्दै सस्तो पर्ने राजु बताउँछन्।

‘भइहाल्छ नि’ को चुनौती

सालिक निर्माणको क्रम जति बढ्दो छ त्यति समस्या छ भुक्तानी लिन। राजु सालिक निर्माणको ‘उद्योग’ चलाउँदैनन्। उनले आफ्नो व्यवसायलाई ‘घरायसी’ ठान्छन्। उनीकहाँ काम लिएर जानेहरू व्यावहारिकरूपमै प्रस्तुत हुन्छन् र काम दिन्छन्। उद्योग प्रतिष्ठानसँग जसरी सम्झौता गरेर ‘आधिकारिकता’ दिने, ‘तोकिएको’ मितिमा काम सम्पन्न गर्ने र भुक्तानी गर्ने कुरा कमै हुन्छन्।

राजु भन्छन्, ‘म ठूलो व्यवसाय वा उद्योगका रूपमा व्यवहार गर्दिनँ। यसो गर्दा मलाई कतिपयले म्यासेन्जरमा फोटो पठाएर फोनमा सालिक अर्डर गर्छन्। विश्वासकै भरमा काम सुरु गर्दा भुक्तानी पाउन महिनां कुर्नुपर्छ।’ 

उनको अनुभवमा कतिपय स्थानीय तहले नै भुक्तानी प्रक्रिया बुझिसकेका छैनन्। नयाँनयाँ स्थानीय तह, नयाँ जनप्रतिनिधि, नयाँ काम, खरिद प्रक्रियाबारे जानकारी अभावजस्ता कुराले कतिपय ठाउँबाट भुक्तानी पाउने झन्झट झेल्नुपरेको उनको अनुभव छ। 

राजुलाई सालिक निर्माणमा भने गौरवको अनुभूति हुने गरेको छ। त्यसैले उनी सालिक निर्माणपछि कतिपय ठाउँमा पुर्‍याउन पनि आफैं पुग्छन्। कतिपय ऐतिहासिक व्यक्तिको सालिक निर्माण भएपछि ती ठाउँमा पुगेर त्यस्ता व्यक्तिबारे नजिकबाट जानकारी लिने खुल्दुलीले आफैं पुग्ने गरेको उनको भनाइ छ। त्यसैले आफ्नो मनले खाएका कतिपय व्यक्तिको सालिक निर्माण गर्दा ‘व्यावसायिक’ होइन ‘व्यावहारिक’ बन्ने गरेको उनको दाबी छ।

याे पनि...

प्रकाशित: Jan 29, 2021| 01:58 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।