काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको दोहोर्याएका छन्।
सहिद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए।
प्रधानमन्त्री ओलीले सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको समेत बताएका छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ। ‘सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ।’
सन्देशमा उनले भनेका छन्, ‘हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न सघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानको कामलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ। हाम्रा अमर सहिदको बलिदानीको मार्गदर्शन पनि यही हो।’
लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा गरेकोसमेत उनले बताए।
सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको छ, भन्दै उनले भनेका छन्, ‘हाम्रा प्रातः स्मरणीय सहिदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो। देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै सहिदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ।’
जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा सहिदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उनको भनाइ छ।
जहानियाँ राणा शासनविरुद्धको संघर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो।
बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौँ। सोही संघर्षको भाव भूमिबाट जनसंघर्षको ज्वार उठेर विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो।