काठमाडौं– नापी कार्यालय भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादव, सर्भेक्षक रामराज यादवविरुद्ध १० लाख रुपैयाँ भ्रष्टाचारमा बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
रुपन्देही, खड्वा बनगाई-७, स्थित साविक कित्ता नम्बर ३८७ को सार्वजनिक जग्गा छुट दर्ताका क्रममा व्यक्ति विशेषको नाममा दर्ता गरेको पाइएकोले उनीहरुमाथि मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगका अनुसार तत्कालीन नापी अधिकृत दुबे र सर्भेक्षक यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानुनी एवं प्रत्यक्ष फाइदा पुर्याउने कार्य गरेका पाइएकोले मुद्दा दायर गरिएको हो।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दुबे र यादवलाई जग्गाको मूल्य नौ लाख ८३ हजार ७०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम सजाय र बिगो असुलउपर हुनसमेत माग दाबाी लिइएको छ।’
जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीहरुलाई प्रभावमा पारी आफूसमेतलाई गैरकानुनी लाभ हुने र सरकारलाई गैरकानुनी हानि गरेको भन्दै अख्तियारले उनीविरुबद्ध पनि सोही कसुरमा मुद्दा दर्ता गरेको छ।