बुटवल– प्रतिनिधिसभा विघटनपछि मध्यावधि निर्वाचनको घोषणा गरेको सरकारका मन्त्रीहरु मिनि चुनावी सभाकै झल्को दिने गरी शिलान्यास र उद्घाटनमा व्यस्त हुन थालेका छन्।
सत्तासिन नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल बुधबार विकास निर्माणमा प्रतिबद्ध भएको सन्देश दिने गरी आधा दर्जनजति विकास-निर्माणका कामसँग सम्बन्धित सडक उद्घाटन, शुभारम्भ र भवन शिलान्यास कार्यक्रममा व्यस्त भए।
लगातार बुटवल क्षेत्रबाट चुनाव जित्दै आएका पौडेलले चुनावी मत संकलनका लागि एकैचोटी निर्माण सम्पन्न भएका पक्की सडक पुलहरुको उद्घाटन गरेको बताइएको छ। पौडेल बुटवलको विकासका लागि चासो राख्नेमध्येका नेतामा पर्छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् नै विघटन गरेपछि भने मुलुकमा राजनीतिक संकट गहिरिएको छ। दाहाल–नेपाल समूहसहित केही राजनीतिक दलहरु संविधानमाथि प्रहार गरी प्रतिगमन भएकाले संसद् पुनर्बहालीको मागसहित आन्दोलनमा उत्रेका छन्।
ओली समूहका मन्त्री र नेताहरु भने समृद्धि र विकासको बाधक दाहाल–नेपाल समूह भएको आरोप लगाउँदै वैशाखमा हुने मध्यावधि निर्वाचनमा दुई तिहाइको मत दिन मतदाता फकाउने अभियानमा छन्। अर्थमन्त्री पौडेल बुधबार बिहान ८ बजेदेखि अपरान्हसम्म कार्यक्रममै व्यस्त थिए। बिहान तिनाउ नदीस्थित मगरघाटमा निर्माण गरिएको तिनाउ पुलको उद्घाटन गरे। यो पुल २१ करोड ४९ लाख लागतमा निर्माण भएको हो। ०७३ असार २९ गते निर्माण शुरु भएको यो पुल ०७६ माघ २८ गते सम्पन्न भएको थियो।
त्यसैगरी देवीनगर हात्तीसुँडमा निर्माण भएको तिनाउ पुलको पनि अर्थमन्त्रीले उद्घाटन गरे। ११ करोड ९३ लाख लागतमा निर्माण भएको यो पुललाई वैकल्पिक राजमार्गका रुपमा लिइन्छ। यो पुल ११० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ। ०७२ असार ३० मा निर्माण सुरु भएको यो पुल ०७६ माघ ५ गते सम्पन्न भएको हो।
नयाँ गाउँस्थित दानव नदीमा पनि ०६९ असार २४ गते निर्माण सुरु भएको पुल ०७६ भदौ ३० गते सम्पन्न भएको थियो। ६ करोड ६५ लाख लागतमा यो पुलको निर्माण भएको हो। तीनवटै पुल सञ्चालनमा आएको वर्षौं भइसक्यो। तर, अर्थमन्त्री पौडेलले भने आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आउँदो चुनावमा आफैँले काम गरेको देखाउन एक वर्षपछि भएपनि उद्घाटन गरेका हुन्।
नेकपाभित्रको विभाजन र प्रदेशको राजधानी बुटवल कायम गर्न नसकेको आरोपले गर्दा जनमतलाई यथास्थितिमा राख्न पौडेलले महिनामा दुई–तीनपटक आएर विकास निर्माणका आयोजनाको शुभारम्भ, शिलान्यास र उद्घाटनजस्ता कार्यक्रमलाई तिव्रता दिने गरेको कतिपय स्थानीय नेताहरु बताउँछन्।
पौडेलले केही समयदेखि स्थानीयको अवरोधका कारण रोकिएको बुटवलको सडक विस्तारलाई बुधबार पुनः शुभारम्भ गरेका छन्। ०७३ साल चैत १७ गते सम्झौता गरी बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म ३.५ किमि सडक २५ मिटरको फराकिलो बनाउने गरी सडक विस्तार गर्ने आयोजना अघि बढेको थियो। तर, सडक सीमा विवाद अदालतमा पुगेकाले रोकिएको थियो।
अदालतले सीमा क्षेत्रको संरचना हटाउन बाटो खुला गरिदिएपछि भने व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया–बुटवल) सडक विभागले डोजर नै चलाएको थियो। अर्थमन्त्री पौडेलले राजमार्ग चौराहामा यो सडकको शुभारम्भ गर्दै बुटवलको सडक विकास नेपालमै नमुना रहेको बताए। उनले भने, ‘हामीले विकास रोजेका हौं, घर भत्किँदा मन दुखे पनि सडक विस्तारले बुटवलको अनुहार बदल्ने छ।’ उनले आफू बुटवललाई आधुनिक र विकसित सहर बनाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए।
अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–भैरहवा ६ लेन सडक, अन्तर्राष्ट्रिय सभाहल, मेडिकल कलेज जस्ता विकासका पूर्वाधारले बुटवल विकासको नमुना बन्ने उनको भनाइ छ। अर्थमन्त्री पौडेलले बुधबार नै शुद्धोधन गाउँपालिकास्थित फर्साटिकर माविको इञ्जिनियरिङ ब्लकको शिलान्यास गरेका थिए। यसैगरी तिलोत्तमा चेम्बर अफ कमर्सको वार्षिक साधरणसभामा प्रमुख अतिथिका रुपमा सहभागी भए।