काठमाडौं– सरकारले राजपत्रमा सूचना निकालेर कृषि क्षेत्रमा विदेशी लगानी खुला गरेसँगै त्यसको चौतर्फी विरोध भइरहेको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले बन्देज लगाएको कृषिमा विदेशी लगानीसम्बन्धी व्यवस्था संशोधन गर्दै सरकारले गत पुसमा राजपत्रमा सूचना प्रकाशित गरेपछि त्यसको विरोध सुरु भएको हो। सोही विषयमा बुधबार किसानका विभिन्न संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
विरोधमा नेपाल अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघलगायत दर्जन बढी संगठनको सहभागिता थियो। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसमेत विरोध प्रदर्शनमा सहभागी थिए।
विरोध कार्यक्रममा स्वदेशी उत्पादन प्रयोग गरौं, स्वदेशी लगानीको सम्मान गरौं, कृषिमा आश्रित ६५ प्रतिशत जनतालाई बेरोजगार बनाउन विदेशी लगानी किन लगायतका नारा विरोध कार्यक्रममा लगाइएका थिए। आन्दोलनमा सहभागीले राजपत्रमा प्रकाशित सूचना फिर्ता गर्नुपर्ने माग गरेका थिए।
विरोध सभामा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले सरकारले राजपत्रमा प्रकाशित सूचना फिर्ता गर्नुपर्ने बताए। ‘किसानको रक्षाका लागि हामी ज्यान दिन पनि तयार छौं,’ उनले भने, ‘सरकारले राजपत्रमा प्रकाशित सूचना तत्काल फिर्ता गर्नुपर्छ।’ कृषिमा विदेशी लगानी आवश्यक नरहेको र स्वदेशी किसान मास्न नपाइने उनको माग थियो।
नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा राजपत्रमा प्रकाशित सूचना फिर्ता नलिएसम्म आफूहरुको विरोध निरन्तर हुने बताए।