काठमाडौं– नेपाली कांग्रेसले बझाङका तरुण दलका कार्यकर्ता अमृतबहादुर सिंहका हत्यारा पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति प्रकाशित गरी बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय सिंहलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै दोषीमाथि कारबाहीको माग गरेका हुन्।
छबिसपाथिभेरा—३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मंगलबार साँझ सिंहलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस यस घटनाको घोर निन्दा गर्दछ। घटनामा संलग्नको तत्काल खोजी गरी उनीहरुलाई कडा कारबाही गर्न नेपाली कांग्रेस माग गर्दछ।’
कांग्रेसले सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय रहेको जनाएको छ।
नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकारमाथि नेकपाका कार्यकर्ताहले खुलेआम चुनौती दिन थालेको आरोप कांग्रेसले लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटना नदोहोर्याउन नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुनसमेत आग्रह गर्दछ।’