बुुटवल– नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रुपमा लिन नहुने बताएका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्राप्त व्यवस्थासँग नै बदला लिएको आरोप लगाए। दाहाल–नेपाल समूहको प्रचार–प्रसार समितिले मंगलबार रुपन्देहीका सम्पादक, लेखक तथा विश्लेषकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रतिनिधिसभा विघटनलाई अदालतले सदर गरे त्यो मुलुकका लागि दुुर्भाग्य हुने बताए। ‘संसद् विघटन अदालतले सदर गर्यो भने न्यायपालिकामाथि आक्रमण हुन्छ,’ नेता भुुसालले भने।
संविधानमा नभएको व्यवस्थालाई टेकेर संसद् विघटन गरिएकाले न्यायपालिकाले पुनस्र्थापना नगरे न्यायपालिका नै आक्रमणको शिकार हुने उनले बताए। ‘अहिले संसद् ब्युँतिए अर्को ओली जन्मदैन, अन्यथा अदालतले सदर गरे यसैको नजिरमा मुलुक थप बर्बादीमा जान्छ,’ उनले भने। उनले पार्टीभित्रको कमजोरीका कारण ओली प्रवृत्तिको जन्म भएको बताए।
नेता भुसालले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गर्न नसकेको समेत स्वीकार गरे। अब बन्ने नेकपा जनताको सुुझावअनुसारको पार्टी बन्ने उनले दाबी गरे। कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहका लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएकाले यसका विरुद्ध अहिले सडक संघर्षमा नगए मुलुकमा प्राप्त व्यवस्था नै गुम्न सक्ने खतरा औंल्याए।