काठमाडौं– नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको छ।
यो अवधिमा इसेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठूलो योगदान दिन सफल भएको कम्पनीले दाबी गरेको छ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।
हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।