विराटनगर– विराटनगर–१४ की सुनिता मण्डल ३५ वर्षकी भइन्। उनका ३ छोरी र एक छोरा छन्।
सानै उमेरमा विवाह गरेकी उनको पाठेघरमा समस्या देखिएको छ। पाठेघरमा समस्या देखिएको धेरै भइसक्यो। चिकित्सकले उनलाई शल्यक्रिया गर्न सुझाव दिएका छन्। सुत्केरी अवस्थामा पर्याप्त पोसिलो खानेकुरा नपाएको र कमजोर शरीर भएको अवस्थामा इँटाभट्टामा मजदुरी गरेका कारण समस्या भएको मण्डलले बताइन्।
उनले भनिन्, ‘सुत्केरी अवस्थामै भारी बोक्नुपराे।’ श्रीमानले काम नगर्ने र कमाएको पैसा जाँडरक्सी र तास खेलेर सक्ने हुँदा सुत्केरी अवस्थामै भए पनि काम गर्न बाध्य हुनुपरेको उनले बताइन्। स्वास्थ्यमा समस्या देखिए पनि गरिबीका कारण अस्पतालसम्म पुग्न नसकेको उनले बताइन्।
विराटनगर–१४ कै सुर्तीदेवी महतो ४५ वर्षकी भइन्। उनका ६ सन्तान छन्। केही वर्षयता उनलाई पिसाबमा समस्या देखियो। तर आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल पुग्न सकिनन्। कहिलेकाहीँ धेरै पीडा भए पनि कसैलाई नभन्ने गरेको उनले बताइन्। रोग लुकाएर बस्न बाध्य रहेको उनको भनाइ छ। जति पीडा भए पनि सहन बाध्य भएको महतोले सुनाइन्।
सुत्केरी अवस्थामा उनले कहिल्यै आराम गर्न पाइनन्। भन्छिन्, ‘काम नगरी घरमा खाने अवस्था थिएन। छोराछोरी बढ्दै थिए, विवाह गरिदिनुपर्ने कारण पनि काम गर्न बाध्य थिएँ।’ पाठेघरमा समस्या भएपछि चिकित्सकले उनलाई पनि शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्।
विराटनगर–१४ को महतो टोलका करिब सबै घरका महिलामा पाठेघरको समस्या छ। एक वर्षअघि फिल्ड सर्भे गरेर नारी विकास संघ विराटनगरले ‘राम्रो स्वास्थ्य, राम्रो भविष्य’ कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रम सञ्चालन भए पनि लुकाउने, सम्पर्कमा नआउने समस्या रहेको कार्यक्रम संयोजक बन्दना घिमिरेले बताइन्। समुदायका महिलाहरुले पाठेघरको समस्यालाई समस्याका रुपमा नलिने गरेको पाइएको उनको भनाइ छ।
घिमिरेले भनिन्, ‘महिलाहरु उपचारका लागि तयार नहुने, श्रीमानसँग पनि सम्बन्ध राख्नुपर्ने, बच्चा पनि जन्माउनुपर्ने अवस्थाका कारण बाहिर नखुल्ने गरेका छन्।’ पाठेघर समस्या हो र उपचार गर्दा निको हुन्छ भनेर भन्न थालेपछि महिलाहरु विस्तारै खुल्दै आउने गरेको उनको भनाइ छ। महिलाहरुसँग परामर्शपछि चिकित्सकसँग भेट गराइने र चिकित्सकको सुझाव अनुसार स्वास्थ्य उपचार गर्न सहजीकरण गर्ने गरिएको घिमिरेले बताइन्।
विराटनगर–१४ की सामाजिक परिचालक अनिता भट्टराईले करिब २ हजार महिलामा पाठेघरको समस्या रहेको बताइन्। नियमित रुपमा महिलासँग भेटघाट र परामर्शमा रहने गरेकी भट्टराईले भनिन्, ‘अहिलेसम्मको अध्ययनमा महतो टोलका घरैपिच्छेका महिलामा पाठेघरको समस्या छ।’ उनले दलित समुदायका महिलामा बढी समस्या भएको पाइएको बताइन्।
‘झुटो बोल्दा, कुखुराको अण्डा चोर्दा पनि पाठेघरमा समस्या हुन्छ भन्ने अन्धविश्वास रहेछ कतिपयमा। त्यसैले हत्तपत्त खुल्दैनन्,’ उनले भनिन्। नियमित परामर्शपछि मात्र समस्याका बारेमा बताउने गरेको भट्टराईले बताइन्।
कोशी अस्पताल विराटनगरकी प्रसूति रोग विशेषज्ञ मधुमिता राभाले आर्थिक–सामाजिक अवस्था कमजोर भएका महिलाहरुमा बढी पाठेघरको समस्या देखिने गरेको बताइन्।
‘अशिक्षाका कारण महिनावारी भएको समयमा सरसफाइमा ध्यान नदिने, सुत्केरी भएको समयमा पर्याप्त पौष्टिक खानेकुरा नपाउने महिलाहरुमा समस्या देखिएको छ। पाठेघरको समस्या भएका महिलाहरुसँगको परामर्शमा सरसफाइमा ध्यान नदिने, शौचालयको प्रयोग नगर्ने पनि देखिएको छ। सरकारी अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर थाहा नपाउँदा पनि अस्पताल सम्म आइपुग्दैनन्,’ उनले भनिन्, ‘पाठेघरको समस्या बढ्दै गए दीर्घकालिन रुपमा समस्या हुन्छ भनेर बुझेको पाइएन।’