शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार छाड्नेहरुले सम्हालेका मन्त्रालयको खर्च न्यून

सरकार छाड्नेहरुले सम्हालेका मन्त्रालयको खर्च न्यून

सरकारलाई दिएको समर्थन फिर्ता लिएका व्यक्तिहरुले सम्हालेको मन्त्रालयको बजेट प्रगति न्यून देखिएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं- सरकारलाई दिएको समर्थन फिर्ता लिएका व्यक्तिहरुले सम्हालेको मन्त्रालयको बजेट प्रगति न्यून देखिएको छ।

अर्थ मन्त्रालयले आइतबार गरेको अर्ध वार्षिक समीक्षाअनुसार पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय र उर्जा मन्त्रालयको बजेट प्रगति अन्यको तुलनामा न्यून देखिएको हो।

अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म पर्यटन मन्त्रालयको बजेट ७.२९ प्रतिशत मात्रै खर्च भएको छ। त्यस्तै खानेपानी मन्त्रालयको बजेट ११.१९ प्रतिशत खर्च भएको छ। गत पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय योगेश भट्टराईले सम्हालेका थिए। त्यस्तै खानेपानी मन्त्रालय बिना मगरले सम्हालेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरेपछि उनीहरुले मन्त्री पदबाट राजिनामा दिएका थिए। त्यतिबेलासम्म उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्का व्यक्ति वर्षमान पुनको मन्त्रालयमा पनि ६ महिनामा १०.३२ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

चालू आर्थिक वर्षमा खानेपानी मन्त्रालयको बजेट क्रमशः ४३ अर्ब १० करोड,  पर्यटन मन्त्रालयको २६ अर्ब ६३ करोड रुपैयाँ र उर्जा मन्त्रालयको बजेट १ खर्ब ५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।

चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटको २८.१९ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

चालू आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म ४ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ। सो अवधिमा चालू खर्चतर्फ गत आर्थिक वर्षको तुलनामा साढे १० प्रतिशतले बजेट खर्च बढे पनि पुँजीगततर्फको बजेट खर्च पोहोरकोभन्दा करिब २० प्रतिशतले कमी आएको अर्थमन्त्रालयको निष्कर्ष छ।

अर्थमन्त्री विष्णु पौडेलले समस्या लिएर ठोस रुपमा पहल गर्न अघि नबढेका कारण नै पूँजीगत बजेट न्यून खर्च भएको बताए। पूँजीगत खर्च बढाउनका लागि सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालय छलफल र समन्वय हुनुपर्ने मन्त्री पौडेलले बताए। ‘आ-आफ्नो जिम्मेवारी पुरा गरौं’ अर्थमन्त्री पौडेलले भने, ‘जवाफदेही बनौं। अर्थमन्त्रालयले आवश्यक सहयोग र सहजीकरण गर्छ।’

प्रकाशित: Jan 24, 2021| 12:53 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्