काठमाडौं– नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा. दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख डा. सहदेव हुमागाईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
त्यस अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणाली लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको एउटा खुड्किलो भएको बताइन्।
व्यापार घाटासमेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न मन्त्री अर्यालले आग्रह गर्नि। उनले भनिन्, ‘यसले भन्सारबाट जाँचपास कार्य सहज रुपमा सम्पन्न गर्न सकिनेछ। हामीले यसलाई अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको महत्त्वपूर्ण खुड्किलोका रुपमा लिएका छौं।’
कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्र्तराष्ट्रिय व्यापारमा अब सहजता आउने बताए।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताए।