काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ।
नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि सम्झौता गरिएको हो।
सम्झौतापश्चात सेवाग्राहीले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने छन्।
सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम सेवाग्राहीलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार प्रतिक्रिया दिए।
आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजश्व भुक्तानीलगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिबद्ध रहेको बताए।