काठमाडौं– एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ।
झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको कम्पनीले जनाएको छ।
यस सामाजिक पहल अन्तर्गत एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ। यसै पहल अन्तर्गत एनसेलले एकान्तकुनादेखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ।
यस ग्रीन बेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको संरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ। यसअघि एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो।
हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढी रुख बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम पनि गर्ने बताइएको छ।