काठमाडौं– इजरायलले नेपाली कामदारलाई पनि आफ्नै नागरिकसरह सुविधा दिने भएको छ। बिहीबार यससम्बन्धी दुई देशबीच सम्झौता भएको छ।
सम्झौतामा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरेका छन्। गत असोज १४ गते नेपाल र इजरायलबीच श्रमसम्झौता भएको थियो। सो सम्झौता कार्यान्वयनका लागि बिहीबार कार्यान्वयन सम्झौता भएको हो।
नेपालका लागि इजरायली राजदूत गोडेरले नेपाली र इजरायली कामदारबीच कुनै विभेद नगरिने जानकारी दिए। विभागका महानिर्देशक दाहालले सो सम्झौता इजरायल जाने कामदारको लागि कार्यविधि बनाएर लागू गरिने बताए।