काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले माइनस १४ डिग्री तापक्रममा मस्कोस्थित एक ‘क्रस–सेप्ड पुल’मा डुबुल्की लगाएका छन्।
हिउँ जमेको पानीमा ६८ वर्षीय पुटिनले डुबुल्की लगाएको तस्बिर रुसी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डलबाट पोष्ट गरिएको छ।
रुसको टिभीमा यसको भिडियो पनि देखाइएको छ।
पुटिनले चिसो पानीमा तीनपटक डुबुल्की लगाए। यस पुलको चारैतिर हिउँ जमेको छ।
वास्तवमा पुटिन एक इसाई धर्मावलम्बीकाे रूपमा अनुष्ठानको पालन गरिरहेका थिए। यस दिनलाई फिस्ट डे वा इपिफनी भनिन्छ। हरेक वर्ष यस दिन इसाई धर्मावलम्बीहरू नदी वा तालतलैयामा डुबुल्की लगाएर यशुलाई सम्झन्छन्।
यस डुबुल्कीलाई एकदमै पवित्र मान्ने गरिन्छ। पुटिन कम्युनिष्ट शासनमा हुर्किए पनि राष्ट्रपति भएपछि भने उनी एक इसाई धर्मावलम्बीको रूपमा रहेका छन्।
इपिफनीको मध्यरातमा नदी वा तलाउको पानी पवित्र हुने र त्यहाँ डुबुल्की लगाउनाले पापहरू मेटिने जनविश्वास छ।