पोखरा– गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन्।
अमेरिकाको मायामी विश्वविद्यालबाट जनसंख्या विषयमा पिएचडी गरेका उनलाई कुलपति डा.गणेशमान गुरुङले रजिस्ट्रारमा नियुक्त गरेका हुन्।
यो पदमा लागि खुला प्रतिस्पर्धा आह्वान गरिएकोमा ९ जनाले विस्तृत कार्ययोजना बुझाएका थिए। तीमध्ये उत्कृष्टताका आधारमा तिमिल्सिना छनोटमा परेका हुन्।
पर्वतको मोदी गाउँपालिका–२ देउपुरका स्थायी बासिन्दा तिमिल्सिनाले थाइल्यान्डबाट स्नातकोत्तर गरेका छन् भने जापानबाट पोस्ट ग्राजुएट। उनी ५ वर्षका लागि नियुक्त भएक हुन्। तिमिल्सिना काठमाडौंको स्कुल अफ एन्भाइरोमेन्ट साइन्स एन्ड म्यानेजमेन्टका एकेडेमिक डाइरेक्टर पनि हुन्।
गण्डकी प्रदेश सरकार आफैंले विश्वविद्यालय खोल्ने गरी पोहोर नै ऐन ल्याएको हो। मेडिकल कलेज सञ्चालनसहित प्राविधिक शिक्षामा फोकस गर्ने गरी विश्वविद्यालयले प्रारम्भिक काम थालिसकेको छ। कुलपति, उपकुलपति र न्यायिक परिषद् सदस्य र अध्यक्ष यसअघि नै नियुक्ति भइसकेका छन्।