काठमाडौं - करिब १० महिनापछि शिल्पी थिएटर (गोठाले नाटकघर) को ढोका खुलेको छ। लामो समयपछि मञ्चमा फर्किन पाउँदा कलाकर्मी उज्याला भएका छन्।
माघ १ देखि नाटक मञ्चन सुरु गरेको शिल्पीमा अहिले ६ पात्रको एकलाप मञ्चन भइरहेको छ।
कोभिड-१९ को महामारी जारी रहेकै बेला सुरु भएको थिएटरमा संयोजक देव न्यौपाने बिहीबार रंगमञ्चका दर्शकलाई केही नियमहरू जानकारी गराउँदै थिए।
लामो समयपछिको नाटक प्रदर्शनीले अबको यात्रामा धेरै प्रश्न उठाएको छ। २५ प्रतिशत मात्र दर्शकलाई हलमा राखेर प्रर्दशन सुरु भएको नाटकमा पहिलो सवाल त हलभरि दर्शक कहिले भरिएलान् भन्ने नै हो।
अर्को प्रश्न हो, कलाकारले लकडाउनको समयभरि कसरी गुजारा गरे होलान् ? थिएटर सञ्चालकले कलाकर्मीलाई कसरी पारिश्रमिक दिन सक्लान् ? अब कस्ता नाटकहरू मञ्चन गर्न सकिएला?
निर्देशक घिमिरे युवराज १० महिना सुनसान बनेको थिएटरमा सुरु भएको नाटक र चहलपहल देख्दा जति उत्साहित देखिन्छन् त्यति नै भावुक पनि। नाटकघर खोले पनि नाट्यकर्मीलाई पारिश्रमिकको व्यवस्थापन गर्न निकै गाह्रो हुने उनको चिन्ता छ।
‘यसै पनि नाट्य क्षेत्र व्यावसायिक नभइसकेकाले आर्थिक पाटो कमजोर छ, त्यसमाथि यो समय झनै गाह्रो छ’, उनले भने।
नाट्यकर्मीलाई पारिश्रमिक दिनकै लागि प्रायोजक खोज्नुपरेको उनी बताउँछन्। थिएटरको भित्तापट्टि देखाउँदै घिमिरे भन्छन्, ‘हामीले सञ्चालन गरेको अहिलेको नाटक पनि स्पोन्सर गरिएको छ। नत्र पारिश्रमिक दिनै गाह्रो हुन्छ।’
पुरानै दर्शक
बिहीबार मञ्चन भएको ६ पात्रको एकालाप नाटक चलिरहँदा त्यहाँ भएका दर्शकहरू सबै पुरानै भएको निर्देशक घिमिरे बताउँछन्। फाट्टफुट्ट नयाँ दर्शक आए पनि नयाँ दर्शकको ठूलो संख्या थियटर आउने सम्भावना उनी देख्दैनन्। पुरानै दर्शक फर्काउन र थिएटर खुल्ला छ है भन्ने सन्देश दिन मात्रै थिएटर खोलिएको उनले प्रस्ट्याए।
थिएटर मलका अध्यक्ष केदार श्रेष्ठ पनि तत्कालै नाटकघरका सबै सिट भर्ने उद्देश्य नरहेको बताउँछन्। यसै पनि नाट्य क्षेत्रका दर्शक कम छन्, यो समयमा पहिलाकै गतिमा लैजान केही महिना लाग्ने उनको बुझाइ छ।
थिएटरका ढोका खुले पनि मन खोलेर दर्शक थिएटरसम्म आउने वातावरण तथा मानसिकता बनिसकेको छैन।
सधैँको पेन्डामिक
नाट्य क्षेत्रका कलाकारले यही पेशाबाट पर्याप्त आर्जन गरेको उदाहरण छैन भन्दा पनि हुन्छ। नाट्य क्षेत्रमा ५० वर्षभन्दा लामो समय बिताइसकेका निर्देशक अशेष मल्ल आर्थिक सन्तुष्टि कहिल्यै नभेटिएको स्वीकार्छन्।
‘नाट्य क्षेत्रमा सधैँ आर्थिक अभाव छ। नाटकमा मात्रै लागेर कसैको पनि जीवन चलेको जस्तो लाग्दैन,’ मल्ल भन्छन्, ‘वर्षौंदेखि नेपाली रंगमञ्चको क्षेत्र महामारीग्रस्त जस्तै थियो, अहिले पनि छ। कोभिड-१९ महामारीको कारण यसअघिका १० महिना कुनै काम हुन सकेन, त्यसअघि पनि कलाकारले नाट्य क्षेत्रबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था थिएन।’
नाट्य क्षेत्रले थिएटरको भाडा तिर्न र कलाकारलाई पारिश्रमिक दिन पनि समस्या रहेको उनी बताउँछन्। राज्यले नाट्य क्षेत्रको विकासका लागि निश्चित नीति नबनाएसम्म अवस्थामा धेरै सुधार नआउने उनको बुझाइ छ।
निर्देशक मल्ल भन्छन्, ‘कोभिडले १० महिना बन्द रहँदा कुनै नाट्यकर्मीलाई आर्थिकरूपमा असर परेको छैन। नाटकको कमाइले जीवन चल्छ भन्नु अहिलेसम्म्म भ्रम मात्रै हो। नाटक बन्द हुनु र खुल्नुमा आर्थिकरूपले खासै फरक पर्दैन।’
निर्देशक केदार श्रेष्ठ पनि राज्यले उपयुक्त नीति नबनाएसम्म नाट्य क्षेत्रले फड्को मार्न नसक्ने ठोकुवा गर्छन्। भन्छन्, ‘नाट्य क्षेत्र व्यावसायिक हुन सकेको छैन। हिजो पनि यो क्षेत्र घाटामा थियो आज पनि घाटामा नै छ। जतिबेला नाटक खुब चलेको थियो त्यो समयमा पनि थिएटर सञ्चालन गर्नै गाह्रै थियो।’
शिथिल अवधि
आर्थिक उपलब्धि खासै नभए पनि सिर्जनशील कलाकारका लागि सोख, सन्तुष्टि र गर्वको विषय हो नाट्यकर्म। दर्शकका लागि मनोरञ्जन।
नेपालमा लकडाउन सुरु हुनुअघि थिएटर मल कीर्तिपुरमा नाटक ‘करेसा कन्सर्ट’ भर्खरै सकिएको थियो। कलाकारहरू अर्को नाटक ‘बहुला काजीको सपना’ मञ्चनको तयारीमा थियो। तर, त्यो तयारी अझै कार्यान्वयन हुन सकेको छैन।
यद्यपि, लकडाउनकै बेला भर्चुअल नाटक मञ्चन गरेर यस क्षेत्रमा नौलो प्रयोग गरिएको अर्का निर्देशक केदार श्रेष्ठ बताउँछन्।
महामारीको यो अद्भूत कालमा कलाकारले गुमाएको सबैभन्दा ठूलो कुरा सिर्जना र समय हो। श्रेष्ठ भन्छन्, ‘सिर्जनशील हुनुपर्ने एक वर्ष हामीले यसै गुमायौंं। यो समयमा नाटकका केही नौला आयामको अभ्यास हुन सक्थ्योे।’
निर्देशक घिमिरे पनि महामारीको यो अवधिमा कलाकारले आफूलाई व्यस्त राख्न केही अरू काम गरे पनि सिर्जनशील हुन नसकेको बताउँछन्।
बढ्ला चहलपहल?
केही थिएटर खुले पनि कालिकास्थानस्थित सर्वनाम थिएटरका सञ्चालक तथा निर्देशक अशेष मल्ल अहिल्यै थिएटर सञ्चालन नगर्ने पक्षमा छन्। मल्ल भन्छन्, ‘सर्वनाम थिएटर अझै केही महिना खुल्दैन।’ कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदासम्म थिएटर खोल्ने कुनै योजना नरहेको उनी सुनाउँछन्।
लकडाउन हुनुअघि मञ्चनका लागि तयार दुई नाटक त्यसै रोकिएको उनी बताउँछन्। १५ देशको सहकार्यमा गत अप्रिलबाट सुरु हुने भनिएको अन्तर्राष्ट्रिय फेस्टिभल लकडाउनले रोकियो। कोरोनासँगै रोकिएका कार्यक्रमहरू अझै कति समयपछि सञ्चालन होलान् कुनै ठेगान छैन।
उनी भन्छन्, ‘रंगमञ्च खोल्नका लागि पसल थाप्न जस्तो हतार गर्नु हुँदैन। ९ महिना त पर्खियौं, अझै केही महिना पर्खौं।’
यति लामो समय बन्द हुँदा नाटकघरको भाडा तिर्न पनि समस्या रहेको सञ्चालकहरूको गुनासो छ। श्रेष्ठ भन्छन्, ‘अलिकति बन्दै गएको माहोल पनि भत्किएको छ।’ कतिपय कलाकार त यसैबीच पलायन भइसकेका छन्।
देशभर जम्मा १२ वटा नाटकघर सञ्चालनमा रहे पनि कलाकर्मी यकिन तथ्यांक छैन। निर्देशक विप्लव प्रतीक भन्छन्, ‘नाटक घरमा कस्तो वातावरण बन्छ, त्यसको आधारमा रंगमञ्चमा नाट्यकर्मी फर्किन्छन् वा फर्किंदैनन् भन्ने थाहा हुन्छ। तर यो वातावरण सहजरूपमा बन्लाजस्तो लाग्दैन। लेखक, निर्देशकले अझै कडा मेहनत गर्नुपर्छ।’
काठमाडौंमा शिल्पी, मण्डला, कुञ्ज, सर्वनाम, कौसी, शैली र थिएटर मल सञ्चालनमा छन्। काठमाडौंबाहिर पोखरामा गन्धर्व नाटकघर, विराटनगरमा गुरुकुल र झोराहट नाटकघर, काँकडभिट्टामा परिवर्तन र दमकमा कदम नाटकघर सञ्चालनमा छन्।
कोरोना महामारीले यी सबैमा उस्तै प्रभाव पारेको छ।