काठमाडौं- भारतमा कोरोना भाइरस विरुद्धको खोप आज देखि लगाउन सुरु गरिएको छ।
केरलको त्रिशुरमा सन् गत वर्ष जनवरी ३० मा भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। यो एक वर्षवीचमा भारतमा संक्रमितको संख्या एक करोड नाघिसकेको छ।
आईसीएमआर (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च) का पूर्व निर्देशक एके गांगुली भन्छन्, ‘यो लामो लडाइँको पहिलो उपलब्धि हो। जससँग भारतको आर्थिक पुनरुत्थानको आशा गाँसिएकोे छ।’
सेप्टेम्बरमा भारत कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित थियो। त्यसबेला संक्रमितको संख्या दैनिक करिब एक लाख पुगिरहेको थियो। सबभन्दा धेरै १६ सेप्टेम्बरमा ९७ हजार ८९४ नयाँ संक्रमित भेटिएका थिए। १६ जुलाई देखि १५ सेप्टेम्बरको बीचमा भारतमा ४० लाख मानिसमा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि कोरोनाका नयाँ संक्रमितको संख्या घट्न थाल्यो।
गांगुली भन्छन्, ‘भ्याक्सिन बनाउन हामी सफल भयौं। तर यो लडाइँमा भ्याक्सिन पहिलो सुरक्षात्मक लाइन मात्र हो। हर्ड इम्युनिटी विकास गर्ने हो भने हामीले ६० देखि ७० करोड मानिसलाई भ्याक्सिन दिनुपर्ने छ।’
करिब ७० करोड मानिसलाई भ्याक्सिन दिन एक अर्ब डोज भ्याक्सिन चाहिन्छ। भारतले अहिलेसम्म आफ्नै उत्पादन कोभिसिल्डलाई मात्रै प्रयोगको अनूमति दिएको छ। जोनसन एन्ड जोनसन र फाइजरको भ्याक्सिनले पनि चाँडै अनुमति पाउने गांगुली बताउँछन्।