कोरोना महामारीले शैक्षिक क्षेत्र पनि प्रभावित बनेको छ। नियमित शैक्षिक क्रियाकलाप अवरुद्ध छन्। वैदेशिक अध्ययनलाई कोरोना महामारीले ठूलो धक्का दियो। करिब एक वर्षदेखि शिक्षाका लागि विदेश जाने क्रम लगभग ठप्प छ। यस्तो अवस्थामा माघ २ देखि ५ सम्म नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले भर्चुअल माध्यमबाट १४औं शैक्षिक मेला आयोजना गर्दैछ। यही विषयमा मेलाका संयोजक वासुदेव दाहालसँग नेपाल समयका विपिन पोख्रेलले गरेको कुराकानी :
भर्चुअल माध्यमबाट इक्यान शैक्षिक मेला गर्नैपर्ने कारण के हो?
कोरोना महामारीले गर्दा विद्यार्थी भौतिक रुपमा परामर्श व्यवसायीकहाँ जाने अवस्था बनेको छैन। यही अवस्थालाई ख्याल गरेर विद्यार्थीलाई सही परामर्श र आवश्यक जानकारी उपलब्ध गराउन भर्चुअल मेला आयोजना गरिएको हो।
मेलामार्फत विद्यार्थीले विभिन्न देशको भिसा प्रक्रिया, छात्रवृत्ति, विश्वविद्यालयका परिवर्तित नियम, विद्यार्थी भर्ना प्रक्रिया, आवदेन प्रक्रियाबारे जानकारी लिन सक्छन्।
विश्वभर नै कोरोनाले शैक्षिक क्षेत्रमा ल्याएको चुनौती र अवसरका बारेमा सूचित गराउन मेला प्रभावकारी हुने देखिन्छ। त्यसका साथै महामारीका समयमा पनि इक्यानका सदस्य कार्यालय सक्रिय रहेको सन्देश दिन मेला उपयोगी हुने हाम्रो अनुमान छ।
विद्यार्थीले मेलामा सहभागी हुँदा के अवसर पाउँछन्?
विद्यार्थीले घरबाटै विभिन्न देशका विश्वविद्यालय, शिक्षण संस्था एवम् परामर्श व्यवसायीसँग विदेश अध्ययन, त्यहाँको बसोबास, लागत खर्च, भिसा प्रक्रिया, अध्ययनपछि रोजगारीको अवसर लगायतका विषयमा जानकारी लिन सक्छन्।
यस्तै विदेश अध्ययनका बारेमा लागेका जिज्ञासा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसँगै पनि राख्न सकिन्छ। त्यसैले मेला अत्यन्तै उपयोगी छ। त्यसका साथै शैक्षिक क्षेत्र, भाषाका कक्षालगायतलाई चलायमान बनाउन पनि मेलाले सघाउनेछ।
मेलामा एक सयभन्दा बढी शैक्षिक परामर्श व्यवसायीका स्टल रहन्छन् र विद्यार्थीले ती स्टलबाट भर्चुअल रुपमा परामर्श लिन सक्छन्।
मेलामा विद्यार्थी कसरी सहभागी हुन सक्छन्?
हामीले मेलालाई ‘टेक्नोफ्रेन्डली’ बनाउने प्रयास गरेका छौं। ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट इक्यान फेयर डटकम’ मा नाम, आफूले अध्ययन गर्न चाहेको देश र विषयबारे दर्ता गर्न सकिन्छ। दर्तापछि आफूले अध्ययन गर्न चाहेको देश, विश्वविद्यालय, क्याम्पस र त्यसका प्रतिनिधिसँग विद्यार्थी प्रत्यक्ष जिज्ञासा राख्न सक्छन्।
विदेश अध्ययन गर्दा विद्यार्थीले के कुरामा ध्यान दिन आवश्यक छ?
वैदेशिक शिक्षाका लागि विद्यार्थीमा अलमल होला भनेरै मेलाको आयोजना गरिएको हो। विद्यार्थी आफूले अध्ययन गर्न चाहेको विषय, देशलगायतमा बारेमा प्रस्ट भए अत्यन्तै राम्रो नभए पनि मेलामार्फत बुझेर निर्णय गर्न उहाँहरूलाई सहज हुनेछ। मेला विद्यार्थीलाई विदेश अध्ययन सहज र सुरक्षित होस् भन्ने उद्देश्यले गरिएको हो।
मेला र इक्यानका सदस्य कम्पनीबारे विद्यार्थीलाई के भन्नुहुन्छ?
विद्यार्थी मात्रै होइन, अभिभावकले पनि मेलाको अवलोकन गर्नुस्। विदेशको शिक्षा र वातावरणबारे बुझ्नुस् भन्न चाहन्छु।
इक्यानका हरेक सदस्य कम्पनीसँग वैदेशिक अध्ययन परामर्श तथा भाषा प्रशिक्षणको लामो अनुभव छ। यो परामर्श व्यवसायीको सबैभन्दा ठूलो छाता संगठन पनि हो। हरेक कम्पनीमा विषयविज्ञ परामर्शदाता हुनुहुन्छ। त्यसैले पनि यो अत्यन्तै लाभदायक छ।