विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेषज्ञ टोली चीनको वुहान पुगेको छ।
कोरोना भाइरस महामारी उत्पन्न भएको चिनियाँ भूमिमा पहिलो पटक डब्ल्यूएचओको विशेषज्ञ टोली पुगेको हो।
वुहानमा सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको पहिलोपटक देखा परेको थियो।
चीनमा डब्ल्यूएचओको टोली यस्तो बेलामा पुगेको छ, जहाँ आठ महिनापछि पहिलोपटक कोरोनाका कारण मृत्युको घटना भएको छ।
यति बेला विश्वभरमा कोरोना महामारीको नयाँ रुपले त्रसित बनाएको छ। पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या नौ करोड नाघेको छ भने २० लाख मानिसको ज्यान गइसकेको छ।
विश्वका धेरै देशमा कोरोना महामारीको दोस्रो र तेस्रो लहर फैलिएको छ। महामारीका कारण मानिसको मृत्यु त भएको छ नै विश्वभरको अर्थव्यस्वस्थामा पनि गम्भीर असर परेको छ।
चीनको वुहानमा बिहीबार पुगेको डब्ल्यूएचओको टोलीले कोरोना भाइरस कसरी फैलिएको भन्ने विषयमा अनुसन्धान गर्नेछ।
सुरुमा चीनले कुनै पनि विदेशी अनुसन्धानकर्तालाई वुहानमा अनुमति दिएको थिएन। विश्वव्यापी रुपमा तीव्र दबाबपछि मात्र चीन डब्ल्यूएचओको टोलीलाई प्रवेश दिन तयार भएको हो।
डब्ल्यूएचओको टोलीमा १० जना विशेषज्ञ छन्। तिनमा भाइरोलोजिस्टका साथै अन्य विशेषज्ञ पनि छन्।
विशेषज्ञहरु अमेरिका, अस्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रुस, निदरल्यान्ड्स, कतार र भियतनामका छन्।
चीन सरकारका प्रवक्ताले टोलीलाई चिनियाँ विशेषज्ञका साथ विचार आदानप्रदान गर्ने मौका दिइने बताएका छन्। तर उनले अनुसन्धानका लागि अनुमति दिने वा नदिने भन्नेमा केही बताएका छैनन्।
चीनको वुहान प्रान्तमा चमेरा र अन्य जनावरबाट मानिसमा फैलिएको कोरोना भाइरसका कारण लाखौं मानिसको मृत्यु हुँदा वैज्ञानिक पनि आश्चर्यमा छन्।
चीनको सत्ताधारी दल कम्युनिस्ट पार्टीले भने भाइरस संक्रमण अन्य देशबाटै समुद्री भोजनबाट संक्रमण भएको दाबी गर्दै आएको छ। तर वैज्ञानिहरुले यसको इन्कार गरेका छन्।
चीनको एउटा टेलिभिजन च्यानल सीजीटीएनले विशेषज्ञ टोलीलाई दुई सातासम्म क्वारेन्टिनमा राखिने जनाएको छ।
त्यसपछि उनीहरुको स्वाब परीक्षण हुनेछ। क्वारेन्टिनमा रहेका बेला विशेषज्ञ टोलीले चिनियाँ विशेषज्ञसँग भिडियो कन्फरेन्स भने गर्न पाउने बताइएको छ। रोयटर्स