मंगलबार, चैत १०, २०८२

निरन्तर सिकाइमा सघाउन शैक्षिक अभियान सुरु

सरकारले कोभिड–१९ महामारी तथा यसपछि पनि बालबालिकालाई निरन्तर सिकाइमा सघाउन शैक्षिक अभियान सुरु गरेको छ। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– सरकारले कोभिड–१९ महामारी तथा यसपछि पनि बालबालिकालाई निरन्तर सिकाइमा सघाउन शैक्षिक अभियान सुरु गरेको छ। 

National life

यसमा विद्यालयको सुरक्षित पुनःसञ्चालन तथा वैकल्पिक शिक्षाका विभिन्न विधिको प्रयोगबाट सिकाइ क्रियाकलापलाई थप प्रभावकारी बनाउने योजना छ।  

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले युनिसेफ नेपाल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघ र नेपाल शिक्षा समूहसँगको सहकार्यमा सिकाइ निरन्तरता अभियानको विकास गरेको हो। 

महामारी रोकथामका लागि लागू गरिएका स्थानीय तथा राष्ट्रिय बन्दाबन्दीका कारण लामो समयसम्म विद्यालय बन्द रहँदा झन्डै ८५ लाख बालबालिकाको सिकाइ प्रकृया जोखिममा परेको थियो। 

स्थानीय सरकारले कोभिड–१९ को जोखिम कम भएको वा नियन्त्रणमा आएको आंकलन गर्दै केही क्षेत्रमा विद्यालय पुनः सञ्चालन गरे तापनि  संक्रमणको जोखिम व्याप्त रहेकाले विद्यालय पुनः सञ्चालनमा थप चुनौती देखिएका छन्।  

Laxmi sunrise bank
kumari

कोभिड–१९ का सन्दर्भमा सरकारद्वारा जारी गरिएको विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचाअनुरुप यस अभियानले विद्यालय पुनःसञ्चालनमा आएका क्षेत्रमा संक्रमण रोकथाम गर्न पालना गर्नुपर्ने जनस्वास्थ्य सुरक्षा मापदण्डको बारेमा जानकारी प्रदान गर्नेछ।

यस्तै अभिभावक, स्याहारकर्ता, शिक्षक, विद्यालय व्यवस्थापन पदाधिकारी तथा स्थानीय सरकारलाई संलग्न गराउनुका साथै बालबालिकाको सिकाइले निरन्तरता पाएको सुनिश्चित गर्न वैकल्पिक शिक्षाका विधिहरूको प्रभावकारी प्रयोग गर्न पनि प्रोत्साहन गर्ने विश्वास युनिसेफको छ। 

विपन्न, दुर्गममा बसोबास गर्ने तथा सीमान्तकृत बालबालिकाको निरन्तर सिकाइका लागि थप एवं लक्षित सहयोग प्रदान गर्न तथा उनीहरूले विद्यालय छाड्ने अवस्था आउन नदिन अभियान केन्द्रित रहने बताइएको छ। 

‘अभियानबाट सम्पूर्ण विद्यार्थीको सिक्न पाउने हक सुनिश्चित गर्न तथा विद्यार्थीले उपलब्ध सुविधाअनुरुप सिकाइका लागि सहज वातावरण सिर्जना गर्न मद्दत गर्ने अपेक्षा छ’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक, घनश्याम अर्यालले भने। 

केन्द्रले विभिन्न वैकल्पिक शिक्षाका विधि तयार पार्नको लागि प्रदेश तथा स्थानीय सरकार र विकास साझेदारसँग सहकार्य गर्दै आएको छ।

वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्ने सरकारी निर्देशिकाअनुरुप यी नमुना तयार पार्ने क्रममा विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरिएको छ।

यसअन्तर्गतका कुनै पनि सञ्चार माध्यममा पहुँच नभएका, रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटरमा पहुँच भएका तर इन्टरनेट सुविधा नभएका र इन्टरनेटमा पहुँच भएका बालबालिका छन्। 

यी वैकल्पिक शिक्षाका विधिहरूको प्रभावकारी प्रयोगमा सिकाइ निरन्तरता अभियान केन्द्रित छ। जसअन्तर्गत नेपाल टेलिकमको सीयूजी सेवालाई क्रियाशील बनाउँदै टेलिफोन÷एसएमएस जस्ता प्रविधिको कम प्रयोग हुने विधिको प्रयोग गरी शिक्षक परिचालन गरिनेछ। 

बालबालिकाको शिक्षामा अभिभावकहरूको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै विशेष रेडियो कार्यक्रम, गृह विद्यालय कार्यक्रम तथा सिकाइ सहयोगका लागि अभिभावक समूहको प्रवर्द्धन गरिनेछ। 

‘वैकल्पिक शिक्षाका विधिहरूले विद्यालय बन्दबाट प्रभावित बालबालिकाका लागि मात्र नभई विद्यालय पुनस् सञ्चालन हुने क्रममा रहेका स्थानका लागि पनि महत्त्वपूर्ण साबित हुन सक्छन्’, युनिसेफ प्रतिनिधि एल्के विसले भने। 

प्रकाशित: Jan 14, 2021| 08:22 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्