काठमाडौं– चालू आवको आधा समय अर्थात ६ महिना अवधि सकिएको छ। तर सरकारले लक्ष्यअनुसारको बजेट प्रगति गर्न सकेको छैन।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पुस मसान्तसम्म राजस्व संकलनको लक्ष्य ४१.७३ प्रतिशत मात्रै पूरा भएको छ।
सरकारले चालू आवमा मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
पुस मसान्तसम्म चार खर्ब २२ अर्ब २३ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरिएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
सो अवधिमा कुल बजेट खर्च पनि न्यून छ। चालू आवको अन्तिमसम्म १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले पुस मसान्तसम्म चार खर्ब १५ अर्ब ७४ करोड ५४ लाख खर्च गरेको छ। उक्त खर्च कुल बजेटको आधारमा २८.१९ प्रतिशत हो।
चालू आवको सो अवधिमा सरकारले चालूगततर्फ र पुँजीगततर्फको बजेट क्रमशः ३६ प्रतिशत र १४ प्रतिशत खर्च गरेको छ।
चालूगततर्फको खर्च ३ खर्ब ४२ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ खर्च गर्न सकेको छ। सो खर्च कुल चालूगततर्फको कुल बजेटको ३६.०८ प्रतिशत हो।
त्यस्तै पुँजीगततर्फ ५० अर्ब ८१ करोड ७० लाख रुपैयाँ खर्च गरिएको र उक्त खर्च कुल पुँजीगत बजेटको १४.४० प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। पुँजीगत खर्चले सरकारले गर्ने विकास निर्माणका कामहरुको प्रगति देखाउँछ।