चीनमा पाँच महिनापछि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। पाँच महिनापछि एक दिनमा सबैभन्दा धेरै संक्रमित चीनमा भेटिएका हुन्।
कोरोनाको नयाँ लहरबाट बच्न चीनले चार सहरमा लकडाउन लागू गरेको छ। परीक्षण बढाइएको छ भने अन्य नियम समेत लागू गर्ने तयारी गरिएको छ।
अधिकांश नयाँ संक्रमित राजधानी बेइजिङ आसपासमा भेटिएका छन्। बुधबार जारी गरिएको आधिकारिक तथ्यांक अनुसार उत्तरपूर्वी चीनको एक प्रान्तमा संक्रमितको संख्या बढेको देखिएको छ। संक्रमण बढेपछि २८ मिलियन भन्दा धेरै मानिस होम क्वारेन्टिनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेसनल हेल्थ कमिसनले विज्ञप्ति जारी गर्दै चीनमा ११५ जना नयाँ संक्रमित भेटिएको जनाएको छ। यसको एक दिनअघि ५५ जना संक्रमित भेटिएका थिए। ३० जुलाईपछि चीनमा एकै दिनमा यति धेरै संक्रमण पुष्टि भएको हो।
संक्रमण बढेपछि हुवे प्रान्तका तीन सहरमा लकडाउन गरिएको छ। बेइजिङको प्रशासनले स्क्रिनिङ लगायतका काम सुरु गरेको छ। हेलुङजाङ प्रान्तले बुधबार कोभिड–१९ इमरजेन्सी घोषणा गरेको छ। प्रान्तिय राजधानी हार्बिनको सिमामा पर्ने सुहुवा सहरले लकडाउन गरेको छ।
–बीबीसी हिन्दी