काठमाडौं - इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्टस्ले ससुओलोविरुद्ध सहज जित निकालेको छ।
ओल्ड लेडी मैदानमा सम्पन्न खेलमा साविक विजेता युभेन्टस्ले ससुओलोलाई ३–१ गोलले हराएको हो।
युभेन्टस्काे जितका लागि १० खेलाडीमा सीमित टिमविरुद्ध ड्यानियलो, आरोन रामसी र क्रिस्टियानो रोनाल्डोले गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयमा ससुओलोका पेड्रो ओबियाङले युभेन्टस्का केएजामाथि खराब ट्याकल गरेपछि रेडकार्ड पाएर बाहिरिएका थिए।
बराबरीको खेलमा त्यसपछि दबाबका आएको ससुओलोविरुद्ध ड्यानियलोले ५० औं मिनेटमा गोल गरे। तर, उनको गोललाई चुनौती दिँदै ससुओलोका ग्रिकवायल डिफ्रेलले गोल गरेर खेललाई बराबरीमा ल्याए।
तर, युभेन्टस्का रामसीले ८२औं मिनेटमा र रोनाल्डोले इन्ज्युरी समयमा गोल गर्दै ससुओलोलाई स्तब्ध पारे।
जितसँगै युभेन्टस् सिरी ए अंक तालिकाको चौथो स्थानमा छ। ऊ शीर्षस्थानको एसी मिलानभन्दा सात अंक पछि छ। यद्यपि मिलानले एक खेल धेरै खेलेको छ।
यता पराजित ससुओलो भने २९ अंकका साथ सातौं स्थानमा छ।
सिरी ए अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा नापोलीले उडिनेसलाई २–१ गोलले हराएको छ।