बागलुङ - भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत वस्ती निर्माण सुरु भएको छ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ काठेखोला गाउँपालिका-५, काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत वस्ती निर्माण सुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ।
एकाइ (भवन)का प्रमुख उमेशकुमार चौधरीले ढिलै भए पनि एकीकृत वस्ती निर्माण सुरु गरिएको बताए।
अहिले एकीकृत वस्तीको भुइँतलाको डीपीसी सम्पन्न भएको छ।
२०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत वस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपूर्जा वितरण गरेको थियो। जग्गा खरिदका लागि प्रतिपीडित परिवार दुई लाख रूपैयाँ दिइएको थियो।
एकीकृत वस्ती निर्माण गर्न प्रतिपरिवार तीन लाख रूपैयाँ र पूर्वाधार निर्माणका लागि प्रतिपरिवार चार लाख रूपैयाँ गरी एकीकृत वस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा ९० लाख खर्च गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिइन्।
पाण्डेका अनुसार पछिल्लो समय बागलुङमा पुनर्निर्माण प्राधिकरणले गति लिएको छ। अहिलेसम्म ६६ प्रतिशतभन्दा बढी निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ। रासस