धनुषा– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस एकढिक्का भएर अघि बढिरहेको बताएका छन्।
जनकपुरधाम–८ मा आइतबार सहिद सत्यनारायण पाठकको सालिक अनावरण गरेपछि आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति निधिले कम्युनिस्ट र लोकतन्त्र कहिल्यै सँगसँगै अघि नबढ्ने पनि बताए।
उनले भने, ‘संसद विघटन गरेर प्रधानमन्त्री ओलीले अधिनायकवादी र वर्चस्ववादी कदम उठाएका छन्, सबैतिरबाट त्यसको विरोध हुनुपर्छ।’
‘प्रधानमन्त्रीले संसद भंग गरेर देशमा संकट निम्त्याएका छन्,’ उनले भने, ‘अहिले यो मुद्दा सर्वोच्चमा विचाराधीन छ। अदालतले पक्कै पनि उचित निकास दिनेछ।’
सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए वा तुरुन्त निर्वाचनमा जान आदेश दिए पनि दुबै अवस्थाका लागि कांग्रेस तयार रहेको उनको भनाइ छ।
‘कांग्रेसलाई कमजोर नठान’
निधिले कांग्रेसलाई कमजोर नठान्न विरोधीहरुलाई चेतावनीसमेत दिएका छन्।
‘कांग्रेस बाघ हो, चुपचाप बसिरहेको हुन्छ,’ उनले भने,‘तर, जुनुन चढेपछि यसको पञ्जाबाट कोही उम्किन पाउँदैन।’
सर्वोच्चले चुनावमा जान भनेको खण्डमा प्रधानमन्त्री ओलीले चुनाव नगराउने चर्चा भइरहेकोतर्फ संकेत गर्दै निधिले भने, ‘सरकारले निर्वाचन गराएन भने त्यस्तो सरकारलाई जनताले आन्दोलनबाट फ्यांकिदिने छन्।’
गणतन्त्र र संघीयता उल्ट्याउन खोज्नेहरू आफैं परास्त हुने बताउँदै उनले नेपालमा अब राजतन्त्र फर्किने सपना नदेख्न पनि सचेत गराए।
को थिए पाठक?
उपसभापति निधिले आइतबार जनकपुर ८ मा स्थापित सहिद सत्यनारायण मण्डलको शालिक अनावरण गरेका छन्।
तत्कालीन पञ्चायत सरकारले जनकपुरको वडा नम्बर ७, ८ र १३ मा निजी जग्गा अधिग्रहण गरी टाउन प्लानिङको योजना बनाएको थियो।
तत्कालीन सरकारले निजी जग्गा अधिग्रहणको काम सुरु गरेपछि स्थानीय वासिन्दा त्यसको विरोधमा उत्रिए।
आन्दोलनकै क्रममा बस्ने सत्यनारायण पाठकको २०४५ मंसिर २६ गते प्रहरीको गोलीबाट मृत्यु भएको थियो। जनकपुरधाम–८ मा आफ्नो जग्गा नभए पनि पाठक तत्कालीन सरकारको स्वेच्छाचारी कदमविरुद्ध आन्दोलनमा होमिएका थिए।