विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघठन गर्ने निर्णयविरुद्ध नेकपा (दाहाल–नेपाल) समूहले विराटनगरमा दैनिकजसो प्रर्दशन गर्दै आएको छ।
आइतबार विराटनगरको रोडशेष चोकबाट ‘बयलगाडा चढेर अमेरिका जाऔं’ भन्ने नारासहित विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री ओलीले २०६२–६३ सालको जनआन्दोलन ताका ‘बयलगाडा चढेर अमेरिका पुगिदैन’ भन्दै आन्दोलनप्रति नै अविश्वास गरेको र अहिले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र नै धरापमा पार्ने काम गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए।
बयलगाडा प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्री, महेश रेग्मी लगायतका नेताहरु सहभागी थिए।
स्थानीय ट्राफिक चोकमा पुगेर विरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो। कोणसभालाई संविधान सभाका सदस्य मीनाकुमारी यादवले संवोधन गरेकी थिइन्।
उनले संविधान बनाउँदा स्थिरताका लागि भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था गरेको तर अहिले केपी शर्मा ओलीले त्यसलाई उल्लंघन गरेको आरोप लगाइन्।
सोही कार्यक्रममा कानून व्यवसायीहरुले नेपालको संविधान २०७२ को धारा ७६ बाचन गरेका थिए।