काठमाडौं- नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र निन्दनीय रहेको बताएका छन्।
नागरिक अगुवाहरू देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनजस्तो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न आह्वान गरेका छन्।
‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हितविपरीत छ, प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ,’ विज्ञप्तिमा उल्लेख छ।
नागरिकमा बढ्दै गएको वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूले विगतमा गरेको गल्तीहरूप्रति क्षमायाचना गर्नुपर्ने उनीहरूको भनाइ छ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
साथै उनीहरूले प्रतिगमन, षड्यन्त्र र चलखेललाई परास्त गर्न तथा जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, आधारभूत स्वतन्त्रता, मानव अधिकारलगायतका उपलब्धिहरूको रक्षार्थ एकजुट हुन सबै राजनीतिक दल, नागरिक समाज र समस्त नागरिकमा आह्वान गरेका छन्।