काठमाडौं- नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले सूर्य चिह्नमा दाबी गरेको भन्दै उनीहरुमाथि व्यंग्य गरेका छन्।
ओलीले राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै पुष्पकमल दाहालले सूर्य चिह्नमा दाबी गर्दा लाज मान्नुपर्ने बताए।
उनले २०७४ साल असोज १८ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा दाहालले सूर्य चिह्नमा लड्न नमानेको भन्दै अहिले लाज मान्नुपर्ने बताए।
उनले भने, ‘प्रचण्ड कहिल्यै सूर्य चिह्नमा चुनाव लडेका छन् ? उनले त लाज मान्नुपर्ने हो।’
ओलीले दाहाल–नेपाली समूहलाई मच्छणको र आफ्नो समूहलाई हात्तीको संज्ञा दिँदै मच्छणले टोकेकाे हात्तीले थाहा नपाउने तर्क गरे।
उनले भने, ‘मच्छणलाई त मैले टोकेँ भन्ने लाग्छ होला, तर हात्तीले मच्छणले टोकेकाे थाहा पाउँछ त ?’
ओलीले माधव कुमार नेपाललाई अवसरवादीको संज्ञा दिए। उनले मदन भण्डारीको निधन भएका कारण पार्टीको महासचिव बनेको, आफूले छोडिदिएका कारण अध्यक्ष बनेको, दुई ठाउँबाट हारेपछि अरु कसैको सहारामा प्रधानमन्त्री बनेको लगायतका आरोप लगाए।